भाद्र २५ काठमाडौं । जापानिज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।
“जापानिज इन्सेफलाइटिसस सङ्क्रमण लामाखुट्टेको टोइबाट हुने गम्भीर रोग हो । यसले मानिसको स्नायुमा असर पुर्याइ जीवनभर अङ्गभङ बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने गरेको छ ।” यो रोग जुनसुकै उमेरका मानिसाई लाग्न सक्छ तर, धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने डा.शेरबहादुर पुन बताउनुहुन्छ ।
यो भाइरसबाट सङ्क्रमित हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगुर बङ्गुर जस्ता जनावरहरुलाई लामखुट्टेले टोक्यो भने सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्ने डा. पुन बताउनुुहन्छ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन । यो रोग विशेषगरी, साउनदेखि कार्तिकसम्म देखिने चिकित्सक बताउँछन् ।
डा. पुनका अनुसार बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, घाँटीमा गाह्रो हुने, बेहोस हुने, कम्पन हुने, पक्षघात हुने यसको प्रमुख लक्षण हुन् । यो रोगको समयमा उपचार नभएमा बिरामीको मृत्यु हुन सक्ने डा. पुन बताउनुहुन्छ ।
चिकित्सकका अनुसार कलामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगबाट बच्ने प्रमुख उपाय हो । यो रोगबाट बच्न सधैं झुलभित्र मात्र सुत्न चिकित्सकको सुझाव छ । हाँस, कुखुरा,सेँगुर,बङ्गुर, जस्ता घरपालुवा चराचुरुङ्गी तथा जनावरहरुलाई व्यवस्थित ढङ्गले घरदेखि टाढा खाेरमा राखेर सुरक्षित तरिकाले पाल्न डा.प्रकाश बुढाथोकीको सुझाव छ ।
उहाँले घर बाहिर निस्कँदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएका लुगा लगाउन डा. बुढाथोकीले अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “यो रोगबाट बच्न घरको झ्यालढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकाले घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुरिदिने , लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्नुपर्छ ।”
सरकारले यो रोगको सङ्क्रमणबाट बच्न १२ महिनामा जेई विरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रमा समावेश गरी निःशुल्क लगाउँदै आएको छ । खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन डा. बुढाथोकीको सुझाव छ ।
नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमणबाट मत्यु हुनेको संख्या छ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बाँके, कैलाली, चितवन र सुनसरी गरी चार जिल्लाबाट छ जना जापानिज इन्सेफलाइटिस सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।







