spot_img

Sunday, July 26, 2026

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसि नियुक्त

काठमाडौं। चर्चित चलचित्र निर्देशक, अभिनेता, तथा सञ्चारकर्मी दिनेश डिसि (दिनेशराज दाहाल) चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका छन्।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यस पदका लागि आवेदन दिएका ६ जनामध्ये ३ जनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सिफारिस गरेको थियो, जसमा डिसि सहित निर्देशक दीपा पाण्डे बस्नेत र संस्कृतिकर्मी राजेश थापा परेका थिए। अन्य प्रतिस्पर्धीहरूमा चलचित्र निर्माता अर्जुन कुमार डङ्गोल, अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर र प्रकाश भट्टराई रहेका थिए।

दिनेश डिसि सत्तारुढ नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी सङ्घका अध्यक्ष समेत हुन्। उनी चलचित्र निर्देशक समाजका पूर्व अध्यक्ष पनि हुन्। डिसिले सन् १९९७ मा रिलिज भएको चलचित्र ‘सुनचाँदी’बाट अभिनय करियर सुरु गरेका थिए। पछिल्लो पटक उनले चलचित्र ‘फूलैफूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए।

बोर्डको कार्यकारी अध्यक्षको पद भुवन केसीको कार्यकाल सकिएपछि रिक्त थियो। चलचित्र विकास बोर्डको अध्यक्षको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गर्नु पर्ने, र नेपाली चलचित्र उद्योगमा कम्तीमा १० वर्षको कार्य अनुभव वा चलचित्र क्षेत्रसँग सम्बन्धित उच्च शिक्षा प्राप्त गरेको हुनु पर्ने मापदण्ड तोकिएको छ।

दिनेश डिसिको नियुक्तिले नेपाली चलचित्र क्षेत्रको नेतृत्वमा नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ। उनी आफ्नो अनुभव र योग्यता प्रयोग गरेर नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :