भाद्र ०५,काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्दा नियमनमा कडाइका साथै दलभित्रको बेथिति अन्त्य गर्ने गरी मसौदाको तयारी थालेको छ ।
संविधान घोषणालगत्तै सङ्घीयताको मर्मबमोजिमको ऐन ल्याउनुपर्ने र निर्वाचनसमेत छिट्टै गर्नुपर्ने भएकाले तत्काल सम्बोधन हुन नसकेका विषयलाई समेटेर ऐन संशोधन गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधनका लागि मसौदाको काम अगाडि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक दलको नियमनदेखि दलभित्र देखिएका बेथिति अन्त्य गर्ने गरी कानुन परिमार्जन हुने छ ।”
निर्वाचन आयोगले सो ऐनमा संशोधनका लागि आयुक्त भण्डारीको संयोजकत्वमा विधेयक मसौदा समिति गठन गरी काम थालेको छ । आयुक्त भण्डारीले आयोगले तयार गरेका विषयसँगै केही छुटेको भए सुझाव दिन राजनीतिक दललाई पत्राचार गरिएको जानकारी दिनुभयो । आयोगले असार अन्तिम साता दललाई सात दिनभित्र सुझाव दिन पत्राचार गरेकोमा हालसम्म जवाफ आइसकेको छैन ।