भदौ १,गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३४ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५३७ जनाले रक्तदान गरेका छन् ।
दोस्रो चरणमा ३ स्थानबाट गरेको बृहत् खुल्ला रक्तदानमा पूजा सेवा केन्द्र परिसर टाँडी बकुलरमा ८१ जना, केन्द्रीय सेवा केन्द्र अन्तर्गत विजय विकास स्रोत केन्द्र गैँडाकोट ८ मा २१५ जना र कावासोती सेवा केन्द्र परिसर कावासोतीमा २४१ जना गरी एकैसाथ ५३७ युनिट रगत सङ्कलन भएको संस्थाका व्यवसाय विकास विभाग प्रमुख मदन सापकोटाले जानकारी दिनुभयो ।
पूजा सेवा केन्द्र परिसर टाँडी बकुलरमा संस्थाका उपाध्यक्ष कालिदास गौडेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी रत्ननगर नगरपालिका नगर उप प्रमुख यादवप्रसाद पाठक रहनु भएको थियो । त्यस्तै केन्द्रीय सेवा केन्द्र अन्तर्गत विजय विकास स्रोत केन्द्र गैँडाकोट ८ मा भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा र प्रमुख अतिथी गैंडाकोट नगरपालिका आर्थिक बिकास शाखा प्रमुख देवेन्द्र गौतम रहनु भएको थियो । त्यस्तै कावासोती सेवा केन्द्र परिसर कावासोतीमा भएको कार्यक्रममा संस्थाका सचिव गोविन्द कँडेलको अध्यक्षता एवं कावासोती नगरपालिका नगर उप प्रमुख फूलकुमारी थनेतको प्रमुख आतिथ्यता रहेको थियो ।
यसअघि हर्कपूर सेवाकेन्द्र र चोरमारा सेवाकेन्द्रबाट एकैसाथ गरेको बृहत् खुल्ला रक्तदानमा गरी ३७९ युनिट रगत सङ्कलन भएको थियो । आज ३ स्थानबाट गरेको बृहत् खुल्ला रक्तदानमा ५३७ जनाले रक्तदान गरेपछि हालसम्म पाँच स्थानमा भएको रक्तदान कार्यक्रममा गरी ९१६ युनिट रगत सङ्कलन भएको छ । विकू बचत तथा ऋण सहकारी संस्था यस क्षेत्रमा नै सर्वाधिक रक्त संकलन गर्ने संस्थाका रुपमा परिचित छ । पछिल्ला वर्षहरुमा धेरै रक्त संकलन गर्न सहयोग गरेकोमा सम्मान समेत भइसकेको छ ।
संस्थाले आफ्नो ३४ औँ वार्षिकोत्सवका अवसरमा सरसफाई तथा वृक्षरोपण कार्यक्रम, कर्मचारी स्तरीय विभिन्न खेलकुद कार्यक्रम गर्दैछ । भाद्र ५ गते वार्षिक उत्सव विशेष समारोह तथा समापन कार्यक्रम र साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
वि.सं. २०४८ सालमा दैनिक ५० पैसाबाट बचत संकलन गर्दै विकूले सदस्यहरुको आर्थिक र सामाजिक साँस्कृतिक पक्षमा मात्र नभएर वित्तीय साक्षरता, स्वास्थ्य साक्षरता र प्रविधि साक्षरताका अभियान समेत चलाइरहेको छ । आगामी दिनमा विकूले सदस्यहितका थप प्रभावकारी कार्यक्रम अघि बढाउने र गुणस्तरीय र विस्तारित सेवा प्रदान गर्ने प्रतिवद्धता विकू बचतले गरेको छ ।