काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । इटालियन क्लब एटलान्टालाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो ।
पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गएराती भएको खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र केलिएन एमबाप्पेले एक–एक गोल गरे ।केही समयअघि रियलमा अनुबन्ध भएका एमबाप्पेले रियलका लागि डेब्यु खेलमै गोल गर्दै उपाधि बाट रियलको यात्रा सुरु गरेका छन् ।एमबाप्पेले आफ्नो लागि यो उत्कृष्ट क्षण रहेको र लामो समयदेखि यो क्षणको प्रतिक्षामा रहेको बताए ।
रियलको जर्सी लगाएर समर्थकअघि खेल्न पाउनु आफ्नो लागि उपहार भएको उनले बताए । रियलले कीर्तिमानी छैटौं पटक यूईएफए सुपर कपको उपाधि जितेको हो । यसअघि रियल र बार्सिलोनाले समान पाँचपटक उपाधि जितेका थिए । अब रियल सर्वाधिक युइएफए सुपर कप जित्ने टिम बनेको छ ।रियलले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा पनि यूईएफए सुपर कपको उपाधि जितेको थियो ।नयाँ सिजन सुरु हुनुअघि युरोपियन च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच युइएफए सुपर कप खेल हुँदै आएको छ ।