साउन २९, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको सम्भावना पहिचान गरेर त्यसको प्राप्तिका लागि युवाहरुमा राष्ट्रिय भावना जागृत गराउने कार्यक्रमको खाँचो रहेको बताउनुभयो ।
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद र संयुक्त राष्ट्र संघको आयोजनामा सोमबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा राख्नुभएको हो ।
‘दिनानुदिन विदेश पलायन हुने युवा शक्तिलाई स्वदेशमा रोकेर राष्ट्र निर्माणमा लगाउने कार्यक्रमको खाँचो छ ।’ कार्यक्रममा उहाँले जोड दिनुभयो ।
नेपालमा श्रमशक्तिको सहभागिता ७७ प्रतिशत
कार्यक्रमको मुख्य वक्ताका रुपमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, विकासोन्मुख देशमा मानिसहरु श्रम शक्तिभन्दा बाहिर रहन नसक्ने बताउँदै नेपालमा श्रमशक्तिको सहभागिता ७७ प्रतिशत रहेको उल्लेख गर्नुभयो ।
‘‘वैदेशिक रोजगारीबाट प्राप्त भएको रकमको उपयोगिताका कोणबाट अवस्था निराशाजनक छ । २८ प्रतिशतभन्दा धेरै विप्रेषण घरजग्गामा लगानी हुनु यसको उदाहरण हो ।,’’ उहाँले युवाहरुको क्षेत्रगत सहभागिताका विषयमा कुरा गर्नुहुँदै भन्नुभयो, ‘‘विभिन्न निर्वाचनमा २१ वर्षदेखि ४० वर्ष उमेर समूहका युवा निर्वाचित हुन राजनीतिक सहभागिताका कोणबाट महत्त्वपूर्ण पक्ष हो ।’’
राष्ट्रिय समृद्धिमा युवाहरुको सहभागिता सुनिश्चित गर्ने कार्यक्रम सरकारको प्राथमिकतामा
कार्यक्रममा बोल्नुुहुँदै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय समृद्धिमा युवाहरुको सहभागिता सुनिश्चित गर्ने कार्यक्रम सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । यस्तै, संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हना सिङ्गर हमडीले साझेदार बिचको सहकार्यबाट दिगो विकास लक्ष्यमा युवा सहभागिता गराउन सकिने धारणा राख्नुभयो ।
नेपालले संवैधानिक प्रावधान, राष्ट्रिय युवा नीति र दृष्टिकोण २०२५ मार्फत राष्ट्रको परिवर्तनको संवाहक मानेको छ । आउँदो सेप्टेम्बर महिनामा संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्र संघले ‘समिट अफ द फ्युचर’ आयोजना गर्दैछ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले पछिल्लो चार वर्षमा युवाहरुका लागि श्रम बजार सुधार भएको तथ्याङ्क उल्लेख गरेको छ । सोमबार ‘युवाका लागि विश्वव्यापी रोजगारीको अवस्था’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै कोविड महामारीका कारण खुम्चिएको बजारमा सुधार आएको जनाएको हो ।







