साउन २७,चितवन । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरिएको छ ।
पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आइतबार भरतपुरमा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरेको हो । तत्कालीन स्वास्थ्यमन्त्रीको उपस्थितिमा महानगरलाई २०७४ मा पूर्ण खोप घोषणा गरिएको थियो । तर, कोभिड–१९ लगायतका समस्याका कारण औपचारिक घोषणा कार्यक्रम गरिएको थिएन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख रेनु दाहालले पूर्ण खोप घोषणा गर्ने कार्य भन्दा दिगोपन दिनु महत्वपूर्ण विषय भएको उल्लेख गरिन् । भरतपुर महानगरपालिका मेडिकल सिटीका रुपमा परिचित भएकाले यसको साख कायम गर्न यस्ता कार्यक्रमहरुले विषेश महत्व राख्ने उनको भनाइ थियो ।
प्रमुख दाहालले महानगरले एक वडा एक स्वास्थ्य संस्थाको नीति लिइ विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको बताइन् ।जिल्ला समवन्य समितिका प्रमुख नारायण प्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा गराउन काम गर्ने सम्पूर्ण सरोकारवाला पक्षलाई धन्यवाद ज्ञापन गरे । उनले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा सम्पूर्ण महानगरवासीको लागि हर्ष र खुसीको विषय भएको उल्लेख गरे ।
चितवनभन्दा बाहिरा बालबालिकाहरु छोटो समयका लागि भरतपुर बसोबास गर्न आउने जाने भएका कारण बालबालिका एकिन गर्न कठिनाई भएको महानगरका जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए । विषेश गरी भारत र तराई भेगका बालबालिकामा त्यस्तो समस्या पाइएको छ ।
आर्थिक वर्ष २०८०/०८१ माघ र फागनु महिनामा ३१ हजार ८ सय ११ घरधुरी स्वास्थ्यकर्मी स्वमसेविका पुगी १२ हजार ७ सय ६३ जना बालबालिकालाई पूर्ण खोप सर्वेक्षण गर्दा १ वटा पनि खोप नलगाएको ६ जना भेटिएको थियो । अभियानमा आंशिक खोप लगाइएको २२९ जना गरी कुल २३५ जना खोप लगाइएको थियो । जिल्ला खोप समवन्य समितिबाट २०८१ असार २६ गते पूर्ण खोप दिगोपना सुनिश्चिता प्रमाणिकरण गरिएको थियो ।
यो हरेक वर्ष पूर्ण खोपलाई निरन्तरता दिन यो कार्य गर्ने गरिन्छ । भरतपुर महानगरपालिकामा ७६ वटा खोप केन्द्रहरुबाट हरेक महिनाको ९ गतेदेखि १३ गतेसम्म खोप सञ्चालन हुँदै आएको छ । जसमध्ये ४४ वटा खोप केन्द्रहरु समुदायकस्तरमा सञ्चालन हुदै आएको छ ।