साउन २६, काठमाडौँ । नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको हो ।
जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । यो कुल जनसंख्याको ३३.८ प्रतिशत हिस्सा हो ।
जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७९ छ । बालबालिकामध्ये बालकको संख्या धेरै देखिएको छ । कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिला धेरै छन् ।
कार्यालयका अनुसार देशभर रहेको बालबालिको संख्यामध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेका देखिन्छ ।
२०६८ देखि २०७८ को अवधिमा १७ वर्षभन्दा कम उमेर भएका बालबालिकाको जनसंख्यामा १२ लाख १४ हजार ७२८ जनाले कमी आएको राष्ट्रिय तथ्यांक कार्यालयले तथ्यांकले देखाएको छ।
जनगणना २०६८ मा एक करोड १० लाख ८४ हजार ३११ जना बालबालिका थिए। जनगणना २०७८ मा भने यस्तो संख्या ९८ लाख ६९ हजार ५८३ जान मात्रै छ।
जनगणना २०७८ मा नेपालको औसत जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत देखिएको छ।तर, बालबालिकाको जनसंख्या भने १.१ प्रतिशतले घटेको छ। यो भनेको नयाँ जन्मने बालबालिकाको संख्या कम भएको हो।
कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिलाको जनसंख्या ६.५ लाखले धेरै देखिएको छ । बालबालिकाको मात्र हिसाव गर्दा बालकभन्दा बालिका ३.६ लाख कम छन् ।
बालबालिकामध्ये १० देखि १४ वर्षसम्मका बालबालिकाको संख्या अधिक देखिएको छ । यस वर्गमा कुल बालबालिकाको २९.५ प्रतिशत हिस्सा देखिन्छ । त्यसपछि क्रमशः ५ देखि ९, ४ वर्ष भन्दा कम र १५ देखि १७ वर्षसम्मका बालबालिका देखिएका छन् ।






