साउन २६,गैडाकोट । विकू बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ३४ औँ वार्षिकोत्सवका कार्यक्रम आज देखि सुरु गरेको छ ।
वि.सं. २०४८ सालमा दैनिक ५० पैसाबाट बचत संकलन गर्दै सदस्य र समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको विकूले हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ अघि बढिरहेको छ ।
विकूले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आज रक्तदान कार्यक्रम हर्कपुर सेवा केन्द्र परिसर कृष्ण मन्दिर हर्कपुरमा विहान ८ बजेदेखि र चोरमारा सेवा केन्द्र परिसर चोरमारामा पनि विहान ८ बजेदेखि नै सुरु हुने विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले बताउनुभएको छ ।
यसैगरी भाद्र १ गतेपनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ३४ औँ वार्षिकोत्सवका अवसरमा ट्राफिक सचेतना कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, सरसफाई तथा वृक्षरोपण कार्यक्रम लगायतका कार्यक्रम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिनुभएको छ ।
विकू बचतको स्थापना २०४८ साल भदौं ५ गतेकै दिन भएको थियो । तत्कालीन विजय युवा क्लबको सक्रियतामा २६ जना सदस्य मिली विकू बचतको स्थापना भएको थियो । तत्कालीन विजय युवा क्लबको एउटा कार्यक्रमको रुपमा ‘विजय युवा क्लब क्रेडिट युनियन’ भनेर संचालन गरिएको थियो । विकूको वित्तीय अभियान प्रति व्यक्ति दैनिक ५० पैसा संकलन गरी सुरु भएको थियो । २६ जनाबाट सुरु भएको विकूमा हाल एक लाख २१ हजार ६४९ आवद्ध छन् भने १० अर्ब ४० करोड ७२ लाख १२ हजार २सय ६४ रुपैयाँ ५६ पैसाको कुल सम्पत्ति पुगेको छ ।
समाजमा ब्याप्त गरिबी, अशिक्षा र कुलतबाट समुदायलाई मुक्त गरी बचत गर्ने बानीको विकास गराउने विकूको मुख्य उद्देश्य थियो । यसरी बचत भएको रकमलाई सदस्यहरु भित्रै परिचालन गरी विभिन्न किसिमका सामाजिक उद्यमहरुको प्रबद्र्धन गर्नु अभियानको उद्देश्य थियो । विकू बचतले २०५४ सालदेखि नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने स्वीकृति प्राप्त समेत प्राप्त गरेको थियो । हाल भने राष्ट्र बैंक बाहिरिसकेको छ ।
अथक मेहनतको साथ वित्तीय, गैरवित्तीय तथा उच्च प्रविधियुक्त सेवा सहज र सर्वशुलभ तरिकाले प्रदान गर्दै आज विकू बचत नेपालमा मात्रै नभई एसिया स्तरमै परिचित छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पाउँदै विकू बचत स्थानीय समुदायको पहिलो रोजाईको सहकारी बन्न सफल भएको संस्थाका अध्यक्ष प्रेम प्रसाद सापकोटाले बताउँछन् ।
विकूले सदस्यहरुको आर्थिक र सामाजिक साँस्कृतिक पक्षमा मात्र नभएर वित्तीय साक्षरता, स्वास्थ्य साक्षरता र प्रविधि साक्षरताका अभियान समेत चलाइरहेको छ । आगामी दिनमा विकूले सदस्यहितका थप प्रभावकारी कार्यक्रम अघि बढाउने र गुणस्तरीय र विस्तारित सेवा प्रदान गर्ने प्रतिवद्धता विकू बचतले गरेको छ ।