साउन ६ ,काठमाडौँ । श्रीलंकामा जारी एसीसी महिला एशिया कपमा नेपाल आज पाकिस्तानसँग भिड्दैछ ।
बेलुकी सवा ७ बजे सुरु हुनेछ। नेपाल आजको खेलमा पाकिस्तानलाई पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाउने योजनामा हुनेछ । पहिलो खेलमा यूएईलाई हराएको नेपाल उच्च मनोबलका सथा उत्रिनेछ ।
पाकिस्तान भने पहिलो खेलमा भारतसँग सहजै पराजित भएको थियो । तर पाकिस्तान नेपालका लागि कठिन प्रतिस्पर्धी हो । तर नेपाल फेरि एक पटक ऐतिहासिक जितका लागि उच्च मनोबलका साथ मैदान उत्रिनेछ ।आज जितेमा नेपालको अर्को चरणमा पुग्ने सम्भावना समेत बलियो बन्नेछ ।
पहिलो खेलमा सम्झना खड्काको उत्कृष्ट इनिङ (७२ नटआउट) को मद्दतमा नेपालले युएईलाई हराएको थियो । युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट मात्र गुमाएर भेटाएको थियो ।
यो एशिया कप इतिहासमा नेपालको पहिलो जित थियो । यसअघि २०१२ र २०१६ मा गरी खेलेको दुई संस्करणमा नेपालले सबै ९ खेलमा हार बेहोरेको थियो । नेपाल र पाकिस्तान भिड्नु अघि दिउँसो २ः१५ बजे नेपालकै समूह ए मा रहेका भारत र युएई भिड्नेछन् ।







