साउन ४,काठमाडौँ । उपभोक्ताले महँगो तिरेर पनि ताजा तरकारी उपभोग गर्न पाएका छैनन् ।
लगातारको वर्षाका कारण उपत्यकाबाहिरबाट पर्याप्त तरकारी नआएकाले उपत्यकावासीले तरकारी खान पाएका छैनन् ।पछिल्लो १५ दिनदेखि तरकारीको भाउ उकालो लागेको छ । १५ दिनपहिले प्रतिकेजी २५ रुपियाँ रहेको बन्दा आज ५० रुपियाँ थोकमा पुुगेको छ । गोलभेँडा प्रतिकेजी ८० बाट १२० रुपियाँ, काउली स्थानीय एक सयबाट १२५ रुपियाँ, तने बोडी ५० बाट १२० रुपियाँ थोकमा कारोबार भएको छ ।
यस्तै घिउसिमी ७० बाट १६० रुपियाँ, तितेकरेला ५० बाट एक सय रुपियाँ, लौका ५० बाट एक सय रुपियाँ, घिरौला प्रतिकेजी ५० बाट १२० रुपियाँ, फर्सी हरियो प्रतिकेजी ४० रुपियाँबाट एक सय रुपियाँ, पाकेको फर्सी प्रतिकेजी ४५ बाट ७० रुपियाँ, कुुरिलो प्रतिकेजी २५० बाट पाँच रुपियाँ, च्याउ कन्य प्रतिकेजी एक सयबाट १८० रुपियाँ र च्याउ डल्ले १५० बाट ३५० रुपियाँ थोकमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
समितिका अनुसार बाहिरी जिल्लाबाट काठमाडौँ उपत्यकामा आउने तरकारी नै ४० प्रतिशत घटेको छ । सामान्य अवस्था हुँदा बजारमा दैनिक औसतमा नौ सय मेट्रिक टन तरकारी भित्रिने गरेकोमा अहिले चार सयदेखि ४५० मेट्रिक टन मात्रै आइरहेको छ । उपत्यकावासीको मागमध्ये लगभग ८० प्रतिशत कालीमाटी बजारले धान्न गरेको छ र बाँकी साना बजार बल्खु तरकारी बजार, बालाजुु, बानेश्वर, जडीबुटीलगायतका तरकारी बजारलगायत स्थानमा पनि सोही अनुपातमा आपूर्ति घटेको समितिले जनाएको छ । गोरखापत्र