साउन ३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रावण ६ गते आइतबार विश्वासको मत लिने भएका छन् ।
सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका अनुसार श्रावण ६ गतेआइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । एमाले अध्यक्ष ओली संविधानको धारा ७६ (२) अनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त भएका थिए ।
धारा ७६ (४) अनुसार नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । तर प्रधानमन्त्री ओलीले सपथ लिएकै दिन ६ गते विश्वासको मत लिन चाहेको मौखिक जानकारी संसद सचिवालयलाई गराएका थिए । बुधबार औपचारिक पत्र गएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । संसदका सबैभन्दा ठूला दुई दल मिलेकाले प्रधानमन्त्री ओलीसँग सुविधानजनक बहुमत छ। समर्थनका हिसाबले ओलीसँग दुई तिहाई बहुमत देखिएको छ ।







