असार २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले विश्वासको मत माग्ने क्रममा राखेको धारणा आवेग र भावना नभई समीक्षागत निष्कर्ष भएको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा राजनीतिक दलका नेताहरूले राखेका आ–आफ्ना धारणामा स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री प्रचण्डले विश्वासको मतका क्रममा भएका विचारविमर्श भने राम्रो भएको बताउनुभयो ।
“कुनै पनि मान्य सदस्यहरूलाई ‘कन्फ्युजन’ नहोस्, मैले आज आक्रोश र भावना राखेको होइन,” प्रधानमन्त्रीले भन्नुभयो, “मैले आफ्नो दल र पार्टीको चिन्ता गम्भीरताका साथ राखेँ, यो कुनै आवेग होइन, भावना पनि होइन ।”
आफूले राखेको प्रस्ताव अनुभवको निष्कर्ष भएको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री प्रचण्डले देशलाई कता लैजाने भन्ने निर्णय गर्ने मुख्य थलो प्रतिनिधिसभा नै भएको बताउनुभयो । उहाँले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय, समृद्धि र अन्तर्राष्ट्रिय सम्बन्धहरू विकसित गर्ने प्रयास गरेको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मैले विश्वासको मत माग्दा राखेका धारणा सोचेसम्झे अनुसारका निष्कर्ष हुन् ।” उहाँले विभिन्न दलका तर्फबाट प्रस्तुत भएका धारणाप्रति धन्यवाद व्यक्त गर्नुभयो ।