असार २३, काठमाडौँ। इङ्ल्याण्ड् र नेदरल्याण्ड्स यूरोकप कप फूटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । शनिवार राति भएका खेलमा इङ्ल्याण्डले स्वीट्जरल्याण्ड तथा नेदरल्याण्ड्सले टर्कीलाई पाखा लगाए । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वार्टरफाइनलमा नेदरल्याण्ड्सले २–१ को जित दर्ता गर्यो ।
टर्कीले खेलको ३५औं मिनेटमा खेलमा आग्रह लिएपनि जोगाउन सकेन । त्यतिमात्रै होइन, उसले आत्मघाती गोल गरेर खेल नेदरल्याण्ड्सलाई बुझायो ।
टर्कीका आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेडर मार्फत गोल गर्दै खेलमा टर्कीलाई अग्रता दिलाएका थिए ।दोस्रो हाफमा ६ मिनेटको अन्तरालमा दुई गोल गर्दै नेदरल्याण्ड्सले अग्रता लिन सफल भयो ।
७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसमा शक्तिशाली हेडर प्रहार गर्दै स्टेफान डेभ्रिजले खेल बराबरीमा ल्याए । ७६औं मिनेटमा नेदरल्याण्ड्सले अग्रता लियो ।
डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गरेपछि नेदरल्याण्ड्सको पुनरागमन पुरा भयो । यही गोल जितका लागि पर्याप्त गयो ।
यसअघि डसेलडोर्फमा भएको तेस्रो क्वाटरफाइनल खेलमा स्विट्जरल्यान्डलाई टाईब्रेकरमा ५–४ ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गर्यो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो ।
शूटआउटमा स्विट्जरल्यान्डका मानुएल आकान्जीको प्रहार इङ्ल्यान्डको गोलरक्षक जोर्डन पिकफोर्डले बचाए। अन्य सबै स्विस खेलाडीले भने आफ्नो पेनाल्टीमा सफल प्रहार गरे । इङ्ल्यान्डका कुनै खेलाडीले पनि गल्ती गरेनन् ।
त्यसअघि निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । रुबेन भार्गासको क्रस इंग्लिश डिफेन्डर जोन स्टोन्सले क्लियर गर्न नसकेपछि फार पोस्टमा एम्बोलोले सहजै गोल गर्न सफल रहेका थिए ।
८०औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्यो । डेकलान राइसको पास लिएर बक्स बाहिरबाट बुकायो साकाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि खेल अतिरिक्त समय हुँदै पेनाल्टीमा गयो ।
इङ्ल्यान्डले अब सेमिफाइनलमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्ने पक्का भइसकेको छ ।