असार २२ ,काठमाडौँ। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्यको सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धनमा सहभागी दलले पनि नयाँ समीकरणलाई नै समर्थन गर्ने तयारी गरेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका हुन् । डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्वलाई निरन्तरता दिने सर्तमा सरकारलाई समर्थन गर्ने भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने वचन दिनुभएको छ तर नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नयाँ गठबन्धनका सन्दर्भमा परिस्थिति हेरेर निर्णयमा पुग्ने बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी उहाँकै दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिपक्षमा बस्ने तयारी गरेका छन् । संसद्मा नेपाली कांग्रेसको ८८, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७९, जनता समाजवादी पार्टी नेपालको पाँच, जनता समाजवादी पार्टीको सात, जनमत पार्टीको चार, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चार र नागरिक उन्मुक्ति पार्टीको चार सिट छ ।
वर्तमान सत्ता गठबन्धनको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) १० सिट रहेका छन् । अहिलेसम्म अनिर्णीत रहेका राष्ट्रिय जनमोर्चाको एक, आम जनता पार्टीको एक सिट र सदावहार प्रतिपक्ष नेपाल मजदुर किसान पार्टीको एक सिट रहेको छ । साथै स्वतन्त्र दुई सांसदले पनि निर्णय गरिसकेका छैनन् ।