भ्रष्टाचार नेपाली समाजको नियति बनेकामा प्रतिनिधि सभा सदस्यहरु द्धारा चिन्ता व्यक्त

kala sahitya bottom

असार १८ ,काठमाडौँ । प्रतिनिधि सभा सदस्यले भ्रष्टाचार नेपाली समाजको नियति बनेकामा चिन्ता व्यक्त गरेका छन्।

सङ्घीय संसद् सचिवालय मानव संसाधन विकास महाशाखाद्वारा मंगलबार यहाँ आयोजित ‘नेपालमा भ्रष्टाचारसम्बन्धी कानुनी व्यवस्था : समस्या र सुझाव’ कार्यक्रमका वक्ताले कानुन कार्यान्वयनको अवस्था, व्यावहारिकता र वर्तमानमा भइरहेका अभ्यासले कोही गम्भीर प्रकृतिका अनियमिततामा पनि उम्किने र कोही सामान्य त्रुटिका कारण जीवनभर अप्ठेरोमा परेका दृष्टान्त सुनाउनुभयो।

Article Inline 2

केही वक्ताले विद्यालय पाठ्यक्रमबाट नैतिक शिक्षा हटाइएपछि भ्रष्टाचार अझ मौलाएको बताउनुभयो।

सांसद रञ्जुकुमारी झाले कानुन निर्माणको जिम्मेवारीमा रहेका सांसद सदनमा अनुपस्थित हुनु पनि भ्रष्टाचारकै एउटा रूप भएको तर्क गर्नुभयो।

अर्का सांसद नारायणी शर्माले पहुँच र प्रभावका आधारमा मुद्दाको छिनोफानो हुने आम बुझाइ रहेको बताउनुभयो।

सांसद रणेन्द्र बराइलीले भ्रष्टाचारमा संलग्नमाथि भएका कारबाही र उन्मुक्तिको अवस्था विश्लेषण गर्दा यो वर्गीय, सत्तापक्ष र प्रतिपक्षमा विभाजित देखिएकाले राज्य सञ्चालकलाई प्रशिक्षण आवश्यक रहेको बताउनुभयो।

अर्का सांसद उर्मिला माझीले भ्रष्टाचार समाजको शत्रु भएकोले त्यसलाई घटाउन कठिन छ भन्नुभयो।

प्रतिनिधिसभा सदस्य चन्द्रबहादुर विश्वकर्माले भ्रष्टाचार व्यक्तिको आचरणसँग सम्बन्धित भएकाले कानुनभन्दामाथि कोही छैन भन्ने संस्कार स्थापित गर्नुपर्नेमा जोड दिनुभयो। सांसद दीपा शर्माले देशमा भ्रष्टाचार मौलाएकामा चिन्ता व्यक्त गर्नुभयो।

सांसद किरण साहले राजनीतिक हस्तक्षेप र कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा भ्रष्टाचार बढेको बताउनुभयो।

त्यस अवसरमा नेपाल ल क्याम्पसका सहप्राध्यापक बलरामप्रसाद राउतले दण्ड वा जरिवाना बढाउँदैमा भ्रष्टाचार घट्ने वा बढ्ने नभई  भ्रष्टाचार नगर्ने मानसिकताको विकास गर्नेतर्फ समाज जागरूक हुनुपर्नेमा जोड दिनुभयो।

सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले भ्रष्टाचार नियन्त्रणका लागि कानुनलाई समयानुकूल तुल्याउन जनप्रतिनिधिले कानुन निर्माणका बखत ध्यान दिनुपर्ने सुझाव दिनुभयो। रासस

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :