एक्काइसौँ राष्ट्रिय धान दिवस २०८१ का अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल द्वारा शुभकामना सन्देश व्यक्त

krishi top

असार १५, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले धानखेतीमा पारेको बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्दै धान उत्पादन एवं उत्पादकत्व बढाउन सरकार, कृषक र सरोकारवाला पक्षलाई सचेत र जागरुक बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउनुभएको छ ।

एक्काइसौँ राष्ट्रिय धान दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिनुहुदै उहाँले धानबालीमा जलवायुमैत्री प्रविधिहरूको अवलम्बन गराई उत्पादनमा वृद्धि गरी धान चामलको आयात प्रतिस्थापन, खाद्य सुरक्षाको सुनिश्चितता गर्न र कृषि श्रमको सम्मान गर्ने संस्कृति बसाल्न आजको दिनले प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

Article Inline 2

राष्ट्रपति पौडेलले खाद्य सुरक्षा र आत्मनिर्भरताको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । “नेपालको संविधानले प्रत्येक नागरिकको खाद्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक पनि सुनिश्चित गरेको छ । नेपालको धानखेती आकासे सिचाइँमा निर्भर छ । वर्षा राम्रो नभएको वर्ष धान उत्पादन घट्ने र वर्षा राम्रो हुँदा उत्पादन बढ्ने गरेको सन्दर्भमा धानखेती योग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको सम्पूर्ण ध्यान केन्द्रित हुन जरुरी छ भन्ने म ठान्दछु”, राष्ट्रपतिद्वारा जारी शुभकामना सन्देसमा भनिएको छ ।

राष्ट्रपति पौडेलले कृषि क्रान्तिको पहिलो कदम सिँचाइ सुविधा भएको भन्दै आधुनिक खेती प्रणालीमार्फत जनताको जीवनस्तर माथि उठाउन खेतीयोग्य जमिनमा सिँचाइ सुविधासहित आधुनिक उपकरण, मल, उन्नत बीऊ र दक्ष जनशक्ति तयार गर्न हाम्रो ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभयो ।

धान एवम् चामल आयात बर्सेनि बढ्दै जानु चिन्ताको विषय भएको भन्दै उहाँले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी श्रम गर्ने संस्कृतिको विकाससँगै धान उत्पादनमा आत्मनिर्भर हुनेतर्फ हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने खाँचो औँल्याउनुभयो । राष्ट्रपति पौडेलले देशको श्रम शक्ति वैदेशिक अध्ययन तथा रोजगारीका लागि दैनिक सयौँका सङ्ख्यामा विदेश पलायन हुनाले कृषि क्षेत्रमा जनशक्तिको अभाव हुनु दुःखद् हो भन्दै कृषिलाई आकर्षक पेसाका रुपमा विकास गरी विदेश पलायन हुने जनशक्तिलाई स्वदेशमा नै रोक्ने पहल गर्न आग्रह गर्नुभयो ।

साथै, उहाँले खानामा भातको मात्र भर पर्ने बानीलाई वैकल्पिक रुपमा लिई खाने बानी परिवर्तन गरेर अन्य बालीलाई समेत प्रवद्र्धन गर्न हामीले उत्तिकै ध्यान दिनु जरुरी छ भन्नुभयो । उहाँले धान दिवसका अवसरमा सम्पूर्ण नेपाली किसान,  दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

धानको उत्पादन वृद्धि आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्रवद्र्धन गर्ने हेतुले विसं २०६१ देखि प्रत्येक वर्ष असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । यसवर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने  राष्ट्रिय नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाइएको छ । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकांश जनता कृषिमै निर्भर छन् र हाम्रो प्रमुख खाद्यान्न बाली धान हो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :