असार ११,काठमाडौं । अफगानिस्तान पहिलो पटक टी–२० विश्वकप क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ ।
सुपर एटको निर्णायक खेलमा बंगलादेशलाई डीएल मेथडमा ८ रनले हराउँदै अफगानिस्तान पहिलो पटक सेमिफाईनल प्रवेश गरेको हो ।
१९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।
अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारतले इंग्ल्यान्डसँग खेल्नेछ ।
पहिले अफगानिस्तानले ब्याटिङ गरी ५ विकेटको क्षतिमा ११५ रन बनाएको खेलमा पटक पटक वर्षाले बाधा उत्पन्न गरेपछि बंगलादेशले १९ ओभरमा जितका लागि ११४ रन बनाउने लक्ष्य पाएको थियो । तर उसले १७ ओभर ४ बलमा १०९ रन बनाउँदा सबै विकेट गुमायो । १ओपनर लिट्टन दासले सर्वाधिक ५४ रन बनाए । उनले नटआउट रहँदै ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै तोहिद हृदोयले ९ बलमा १४ र सौम्य सरकारले १० बलमा १० रनको योगदान दिए ।
कप्तान रासिद खानले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । यस्तै नवीन उल हकले पनि ३ ओभर ५ बल फाल्दै चार विकेट लिए । गुलबुद्दीन नईब र फजल हक फारुकीले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए ।
कप्तान रासिद खानले १० बलमा १९ रन जोडे । उनले ३ छक्का हाने । त्यस्तै, इब्राहिम जादरानले २९ बलमा १८ रन तथा अज्मतुल्लाह ओमरजाईले १२ बलमा १० रन बनाए ।
कसिलो बलिङ गरेको बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । त्यसैगरी तास्किन अहमद र मुस्तफिजुर रहमानले १–१ विकेट लिए ।