spot_img

Friday, May 16, 2025

आईसिसि टी–२० विश्वकप सुपर ८ : अस्ट्रेलियालाई २४ रनले हराउंदै भारत सेमिफाइनल प्रवेश

असार ११, काठमाडौं । आईसिसि टी–२० विश्वकप अन्तर्गत सुपर ८ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले हराउंदै भारत सेमिफाइनल प्रवेश गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो । कप्तान रोहित शर्माले शानदार ब्याटिङ गर्दै मात्र ४१ बलमा ९२ रन जोडे । उनले ७ चौका र ८ छक्का प्रहार गरे । दोस्रो ओभरमा विराट कोहली शून्यमा आउट भएपछी भारतले खराब शुरूवात गरेको थियो ।

तर रोहितले ऋषभ पन्तसँग मिलेर ८७ रनको साझेदारी गर्दै भारतको इनिङ्स अगाडि बढाए । पन्त १५ रन बनाएर आउट भए । त्यसपछि रोहितले सूर्यकुमार यादवसँग ३४ रनको साझेदारी गरे । यादवले १६ बलमा ३१ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे । शिवम दुवेले २२ बलमा २ चौका र १ छक्कासहित २८ रन जोडे ।

हार्दिक पाण्ड्याले नटआउट रहँदै १७ बलमा २७ रन बनाए । उनले १ चौका र २ छक्का प्रहार गरे । अस्ट्रेलियाका लागि मिचेल स्टार्कले र मार्कस स्टोइनिसले २ तथा जोश हेजलवूडले १ विकेट लिए ।

२ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रन मात्र बनाउन सक्यो । जितसँगै भारत अपराजित रहँदै समूह १ बाट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतविरुद्ध अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । कप्तान मिचेल मार्सले ३७ रन बनाए । मार्सले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मार्स र हेडले ४८ बलमा ८१ रनको साझेदारी गरे ।

ग्लेन म्याक्सवेलले १२ बलमा २० रन बनाए । उनले २ चौका र १ छक्का हिर्काए । टिम डेभिडले ११ बलमा १५ रन जोडे । भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा बलिङ गर्दै ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २, जसप्रित बुमराह र अक्षर पटेलले १–१ विकेट लिए ।

सेमिफाइनलमा प्रवेश गर्ने भारत तेस्रो टोली हो । यसअघि समूह २ बाट दक्षिण अफ्रिका विजेता र इंग्ल्यान्ड उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । अब भारतले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ ।

अस्ट्रेलियाले भने अब अफगानिस्तान र बंगलादेशबिचको खेलको नतिजा पर्खनु पर्नेछ । आफगानिस्तानले बंगलादेशलाई हराए अस्ट्रेलिया आउट हुनेछ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार