असार १० काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहनुभएका सचिव लीलादेवी गडतौला निमित्त मुख्य सचिवको जिम्मेवारी पाउनुभएको छ ।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवम् जनशक्ति व्यवस्थापन महाशाखाका सहसचिव प्रेमप्रसाद आचार्यका अनुसार कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने भन्ने व्यवस्था अनुरूप उहाँलाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको हो ।
यसअघिका मुख्य सचिव डा. वैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेपछि अर्याल स्वतः पदमुक्त हुनुभएको छ । अर्यालसहित १२ जनाविरुद्ध अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ ।






