असार ९ ,काठमाडौं । आईसिसि टी–२० विश्वकपको सुपर एटमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हराएको छ । आईतवार विहान सम्पन्न खेलमा अफगानिस्तानले ऐतिहासिक जित हासिल गरेको हो ।
किङ्सटाउनमा टस हारी पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ४८ रन बनाएको थियो ।
उसका लागि ओपनर रहमतुल्लाह गुरबाजले ६० रनको योगदान गरे । उनले ४९ बलमा चार छक्का र चार चौका पनि प्रहार गरे ।
अर्का ओपनर इब्राहिम जदरानले पनि अर्धशतकीय पाली खेले । उनले ४८ बलमा ६ चौकाको मद्दतले ५१ रन बनाएका थिए । यी दुईले ओपनिङ विकेटका लागि एक सय १८ रनको साझेदारी गरे ।
अस्ट्रेलियाका बलर प्याट कुमिन्सले तीन विकेट लिए । उनले चार ओभरमा २८ रन खर्चिए । एडम जाम्पाले पनि दुई विकेट हात पारे । मार्कुस स्टोइनिसले पनि एक विकेट लिए ।
उता एक सय उनन्पचास रनको लक्षका साथ ब्याटिङ गरेको अस्ट्रेलिया १९.२ ओभरमा अलआउट हुदै एक सय २७ रनमा समेटियो । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रनको योगदान गरे । उनले ४१ बलमा तीन छक्का र ६ चौका पनि प्रहार गरे । मिचेल मार्सले १२ र मार्कुस स्टोइनिसले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
अफगानिस्तानका गुलबदिन नाइबले चार विकेट लिए । उनले चार ओभरमा २० रन खर्चिए । नविन उल हकले पनि तीन विकेट हात पारे । उनले पनि चार ओभरमा २० रन खर्चिए ।
चार अङ्कसहित भारत तालिकाको पहिलो स्थानमा छ । दुई अङ्कसहित अस्ट्रेलिया दोस्रो स्थानमा छ । दुई अङ्क नै बटुलेको अफगानिस्तान तेस्रो र खाता खोल्न नसकेको बङ्गलादेश चौथो स्थानमा छन् ।