spot_img

Sunday, July 26, 2026

आन्तरिक राजस्व विभागको पछिल्लो केही महिनामा राजस्व संकलनमा वृद्धि

असार ७,काठमाडौं । आन्तरिक राजस्व विभागको राजस्व संकलनमा वृद्धि भएको छ। विभागको तथ्यांकअनुसार पछिल्लो केही महिनामा राजस्व संकलन बढेको हो।चालु आर्थिक वर्षको जेठ महिनाको राजस्व संकलन ४१ अर्ब १९ करोड छ। गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो।

यो ११.३० प्रतिशतको वृद्धि हो। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आन्तरिक राजस्व विभागले कूल ४ खर्ब ४८ अर्ब राजस्व संकलन गरेको छ।

यो गत वर्षको सोही अवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो। गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली ४ खर्ब ८ अर्ब थियो। गत वर्षभन्दा चालु आर्थिक वर्षको यो अवधिसम्म ४० अर्बले राजस्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए।

आयकर (भाडा र ब्याजसमेत) बाट २ खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक) बाट १ खर्ब १२ अर्ब र अन्त:शुल्कबाट ९५ अर्ब संकलन भएको छ।महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट ८ अर्ब राजस्व उठेको छ। हालसम्म कूल लक्ष्यमा राजस्व असुली ७८.५ प्रतिशत रहेको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको अन्तिम महिना असार अन्तिमसम्म लक्ष्य भेट्ने गरी राजस्व संकलनमा तीव्रता दिइने तिवारीले बताए।

अर्थमन्त्री वर्षमान पुन अनन्तले राजस्व संकलनमा तीव्रता दिन निर्देशन दिएअनुसार विभाग सक्रिय भएको तिवारीले बताए। गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा वृद्धि भए पनि सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको महत्वाकांक्षी लक्ष्य भने भेट्न सकेको छैन।

अपेक्षित रूपमा राजस्व संकलन हुन नसक्दा बाह्य सूचकको तुलनामा मुलुकको अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन सकेको छैन।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :