spot_img

Wednesday, October 9, 2024

श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न

असार ६,चितवन । श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ ।

भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० (Dash 8 Q 400) जहाजको परीक्षण उडान गरिएको हो । एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले उहाँहरूलाई स्वागत गर्नुभएको थियो ।

  • -advertisement-
  • -advertisement-

अहिले बुद्ध एयरले मात्र दैनिक भरतपुरबाट काठमाडौँ र पोखरा उडान गर्दै आएको छ ।  बुद्ध एयरले उडान गरिरहेको एटिआर–४२ जहाज फेजआउटको चरणमा रहेको समयमा श्री एयरलाइन्सले परीक्षणको अनुमति पाएको हो।

श्री एयरलाईन्सका अध्यक्ष सुधिर मित्तलले परीक्षण सकेर अनुमति पाएपछि नियमित उडान सुरु गर्ने बताउनुभयो । उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने उहाँले जानकारी दिनुभयो । यो विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटरमात्र लामो छ । धावनमार्ग कम भएकाले क्षमताभन्दा केही कम यात्रु उडाउन सकिने उहाँले जानकारी दिनुभयो । भरतपुरबाट काठमाडौँ उडान भर्दा ५५ जना र काठमाडौँबाट आउँदा ७० जनासम्म उडान गर्न सकिने अनुमान उहाँको छ ।

त्रिभुवन विमानस्थलबाट उडेको श्री एयरको ८० सिटको जहाज १४ मिनेटमा भरतपुर विमानस्थलमा अवतरण भएको थियो । बुद्ध एयरको एटिआर–४२ लाई काठमाडौंबाट भरतपुर विमानस्थलमा ल्याण्ड हुन २० मिनेट लाग्छ ।

गृहमन्त्री रवि लामिछानेले ठूलो क्षमताका जहाजसँगै चितवनमा खुसी पनि आउने बताउनुभयो । उहाँले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले विमानस्थललाई विस्तार गरेर आन्तरिक उडान भर्ने सबै जहाज यहाँ आउने वातावरण बनाउने बताउनुभयो । उहाँले विमानस्थल स्तरोन्नति र विस्तारको काम  नरोकिने जनाउँदै विमानस्थल विस्तारको काम सम्पन्न हुने बताउनुभयो ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले धेरै एयरलाइन्स र ठूलो क्षमताको जहाजहरु आउँदा भाडा घट्ने र जनताले राहत पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विमानस्थल विस्तारसँगै श्रीएयर यहाँ आएर यात्रुलाई सहज हुने बताउनुभयो । यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उहाँको भनाइ थियो ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले  छिटो श्रीएयरलाई भरतपुर उडानका लागि अनुमति दिइने बताउनुभयो । आउँदो जनवरी सम्ममा विमानस्थल विस्तारको काम थाल्ने जनाउँदै उहाँले यससँगै चौबीसै घण्टा जहाज चलाउन सकिने उहाँले बताउनुभयो ।
कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार