पोखरा महानगरकोआर्थिक वर्ष ०७९/०८० को बेरुजु ७९ करोड ४९ लाख ८० हजार

krishi top

असार ५,पोखरा । पोखरा महानगरको आर्थिक वर्ष ०७९/०८० को बेरुजु ७९ करोड ४९ लाख ८० हजार देखिएको छ।आर्थिक वर्ष ०७९/०८० सम्मको लेखा परीक्षण गरी महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार महानगरको अद्यावधिक बेरुजु भने तीन अर्ब पाँच करोड ५० लाख २९ हजार पुगेको छ ।

लेखा परीक्षणका क्रममा २६ लाख ४ हजारको प्रतिक्रिया प्राप्त भएकोमा सोउपर कारबाही भई बाँकी बेरुजु असुल गर्नुपर्ने १७ करोड ११ लाख ४८ हजार रह्यो। प्रमाण कागजात पेस गर्नुपर्ने १८ करोड ४३ लाख १३ हजार, नियमित गर्नुपर्ने ३८ करोड ११ लाख ८३ हजार र पेश्की बाँकी पाँच करोड ४८ लाख ८७ हजार रहेको महालेखाले औंल्याएको छ।आर्थिक वर्ष ०७८/०७९ सम्म दुई अर्ब ७९ करोड ३१ लाख १३ हजार बेरुजु बाँकी रहेकोमा ०७९/०८० मा ५३ करोड ३० लाख ६४ हजार फस्यौट भएको थियो।

Article Inline 2

महानगरले नौ अर्ब छ करोड बजेटमा दुई अर्ब ४१ करोड ५० लाख रकमान्तर गरेको र पाँच अर्ब ४५ करोड अर्थात् ६० प्रतिशत खर्चमात्र खर्च गरेकोमा प्रश्न उठाएको छ।अघिल्लो आर्थिक वर्षभन्दा २५ प्रतिशत कम राजस्व असुली भएकोमा राजस्व वृद्धिमा ध्यान दिन महालेखाले सुझाएको छ।दुई हजार पाँच सय ३१ योजनामध्ये १ हजार तीन सय १९ अर्थात् ५२ प्रतिशत पाँच लाखभन्दा साना योजना रहेको औंल्याउँदै प्रतिवेदनले परिणाममुखी काम गर्न, योजना छनोटदेखि कार्यान्वयनसम्मको शैली बदल्न भनेको छ।तीमध्ये तीन सय योजना कार्यान्वयन नै भएनन्।

प्रतिवेदनले महानगरमा अनेक विकृति रहेको औंल्याएको छ।स्रोत, साधन प्राप्तिको लक्ष्य यथार्थपरक नभएको, दरबन्दी अनुसार स्थायी पदपूर्ति नहुँदा सेवा प्रवाह प्रभावित भएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, अनुदानको पर्याप्त अनुगमन नगरेको पाइएको छ ।

स्थायी प्रकृतिको कामका लागि करार सेवामा कर्मचारी नराखिनुपर्नेमा नगर कार्यपालिका र स्वास्थ्य महाशाखले तीन सय ४६ करार कर्मचारी राखेका छन्।ती कर्मचारीका लागि १३ करोड ९४ लाख ४१ हजार भुक्तानी गरेकोमा पनि महालेखाले प्रश्न उठाएको छ।विभिन्न संघ, संस्थालाई मापदण्ड र कार्यविधि तयारै नगरी महानगरले आर्थिक सहयोग भुक्तानी गरेको छ।त्यसरी २९ लाख ७५ हजार नौ सय ३२ रुपैयाँ आर्थिक सहयोग गरिएको देखिएको छ।

पोखरा महानगरको खर्च गर्ने क्षमता कमजोर देखिएको छ।यो वर्ष महानगरको चालुतर्फ तीन अर्ब २८ करोड ६४ लाख ७३ हजार र पुँजीगततर्फ तीन अर्ब ८९ करोड ६९ लाख ५० हजार बजेट छ।अहिलेसम्म चार अर्ब हाराहारी बजेट खर्च भएको छ। गोरखापत्र 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :