आइसिसी टी-२० विश्वकप: वेस्ट इन्डिज १३४ रनले विजयी

banner 2

जेठ २७,काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले लगातार दोस्रो जित निकालेको हो।

समूह ‘सी’ अन्तर्गत आइतबार बिहान भएको खेलमा वेस्ट इन्डिजसामु युगान्डा ३९ रनमा समेटिएको छ। अकिल हुसेनको घातक बलिङमा युगान्डाका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन्। हुसेनले चार ओभर बलिङ गर्दा ११ रन मात्र खर्चिएर ५ विकेट लिनुभयो। १७४ रनको चुनौती पाएको युगान्डा मात्र १२ ओभरमा ३९ रन बनाउँदै अलआउट हुँदा वेस्ट इन्डिज १३४ रनले विजयी भएको हो।

Article Inline 2

वेस्ट इन्डिजविरुद्ध युगान्डाका लागि जुमान मियागीले १३ रन बनाउनुभयो भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन्।

समूह ‘सी’ मा रहेको वेस्ट इन्डिजको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्युगिनी (पिएनजी)लाई पाँच विकेटले हराएको थियो। युगान्डामाथिको एकपक्षीय जितसँगै वेस्ट इन्डिजले चार अङ्क जोडेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले पाँच विकेटको क्षतिमा १७३ रन बनाएको थियो। जोन्सन चार्ल्सले सर्वाधिक ४४ रन बनाउनुभएको थियो भने आन्द्रे रसेलले नटआउट रहेर १७ बलमा महत्त्वपूर्ण ३० रन बनाउनुभयो।

यो समूहमा अफगानिस्तान, वेस्ट इन्डिज, युगान्डा, पिएनजी र न्युजिल्याण्ड छन्। अफगानिस्तान र वेस्ट इन्डिज समान चार अङ्कसहित नेटरनरेटका आधारमा पहिलो र दोस्रो स्थानमा छन्। युगान्डा दुई अङ्कसहित तेस्रो स्थानमा छ। पिएनजी र न्युजिल्याण्डले खाता खोल्न सकेका छैनन्।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :