जेठ २६, काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू कामको खोजीमा विदेश गए पनि नेपाललाई बनाएर पुनः नेपाल फर्काइने बताउनुभएको छ । नेपालको विकास गरेर युवा जनशक्तिलाई यही रोजगारी सुनिश्चित गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
एमालेको पर्यटन, प्रवर्धन तथा नागरिक उड्डयन विभागद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा शनिबार उहाँले सो कुरा बताउनुभएको हो । सो विभागले ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ पुस्तक प्रकाशन गरेको छ । सो पुस्तकको अध्यक्ष ओलीले आज विमोचन गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “देशको वर्तमान अवस्थासँग मानिसको चित्त बुझेको छैन, कामको खोजीमा युवाहरू विदेश पलायन भइरहेका छन्, तर म भन्न चाहन्छु यो मुलुकलाई हामी बनाउँछौँ, बनाउन सकिन्छ । देश बनाएर युवालाई पुनः यही भूमिमा फर्काउँछौँ ।” अन्य देशको भौतिक सुख सुविधा र आकर्षण क्षणिक भएको उहाँले चर्चा गर्नुभयो ।
नेपालमा अब २०.२६ प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनी रहेको विषय दुःखद भए पनि त्यसलाई हटाउन अब समय नलाग्ने उहाँले बताउनुभयो । “गरिबी हटाएर नेपाललाई शान्तिपूर्ण, न्यायोचित समाज बनाउन चाहन्छौँ, त्यो हामी बनाएर देखाउँछौँ” उहाँले भन्नुभयो ।