जेठ १० काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तित विश्व प्रविधिको तीव्र विकासबाट उत्पन्न अवसर र चुनौतीको सामना गर्नसक्ने कूटनीतिक सीप र दक्ष जनशक्ति अहिलेको आवश्यकता भएको बताउनुभएको छ।
बिहीबार नेपाल परराष्ट्र सेवा दिवस २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो। उहाँले परिवर्तित विश्वमा भएको प्रविधि र तीव्र विकासबाट उत्पन्न अवसर र चुनौतीको सामना गर्न ज्ञानमा आधारित अध्ययन, अनुसन्धान र विश्लेषण क्षमता भएको जनशक्ति मुलुकको लागि आवश्यक रहेको बताउनुभयो।
मन्त्री श्रेष्ठले नेपालको परराष्ट्र सेवामा भएको तीन सय भन्दा कम संख्याको जनशक्तिबाट ३२ देशमा अवस्थित ४० नेपाली कूटनीतिक नियोगबाट नेपालको प्रतिनिधित्व प्रमुख विश्व तथा क्षेत्रीय मञ्चमा नेपालको बलियो उपस्थिति जनाउनु आफैँमा चुनौतिपूर्ण रहेको बताउनुभयो। उहाँले नेपालले पाएका अन्तर्राष्ट्रिय जिम्मेवारी अतिकम विकसित मुलुकको ग्लोबल ब्युरोको अध्यक्षता, आर्थिक तथा सामाजिक परिषद्को सदस्य, संयुक्त राष्ट्र संघको आह्वानमा विश्व शान्ति स्थापनामा संलग्नता लगायतमा थप सक्षम, सुदृढ, व्यवसायीक र बलियो परराष्ट्र सेवाको आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले परराष्ट्र सेवालाई कानुनी रुपमा अझ संस्थागत गर्न, समय सान्दर्भिक बनाउन निरन्तर सुधार र आवश्य स्रोत साधनको थप प्रवद्र्धन मिलाउनुपर्ने आवश्यकता देखिएको बताउनुभयो। उहाँले परराष्ट्र सेवाका जनशक्तिको गुणात्मक र कार्यात्मक क्षमतामा जोड दिनुपर्ने देखिएको बताउनुभयो। उहाँले संगठन संरचनालाई चुस्त र प्रभावकारी बनाउनुका साथै राइट साइजिङ नीति अङ्गिकार गरिने जानकारी दिनुभयो। उहाँले प्रविधिको प्रयोग तथा पारदर्शिता र जवाफदेहीको सम्मिश्रण गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रयास गरिने उल्लेख गर्नुभयो।