कांग्रेससँग सहमतिको वातावरण बनाउन म जहिले पनि लागि रहेको छु- प्रधानमन्त्री पुष्पकमल दाहाल

rasifal bottom

वैशाख ३०,चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसप्रति आफू कहिल्यै ‘नेगेटिभ’ नभएको स्पष्ट पार्नुभएको छ । आइतबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेसले पनि आफूलाई ‘नेगेटिभ’ सोच्न पर्ने कारण नभएको बताउनुभयो ।

“अघिल्लो पटक समीकरण ब्रेक हुनुमा कांग्रेसलाई राष्ट्रपति दिऊ र शक्ति बाँडफाँट गरौँ भन्दा नमिलेकै हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कांग्रेससँग सहमतिको वातावरण बनाउन म जहिले पनि लागि रहेको छु । तपाईँहरूले बुझ्नु भएकै होला ।”

Article Inline 2

उहाँले सरकारको नीति तथा कार्यक्रम कांग्रेससँगको सहकार्यमै राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आएर वाचन गर्नुहुने जानकारी दिनुभयो ।

“समझदारीमै राष्ट्रपतिको सम्बोधन आउँछ । यदि समझदारी भएन भने पनि राष्ट्रपतिको सम्बोधन कांग्रेसले रोक्दैन ।  कांग्रेस संवैधानिक संस्कार बुझेको पार्टी हो”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

उहाँले सहकारीहरूमा देखिएको समस्या अध्ययनका लागि सोमबार वा मङ्गलबार संवैधानिक समिति गठन हुने कुरामा कांग्रेससँग सहमति हुने पनि बताउनुभयो । उहाँले सहकारी ठगी प्रकरणमा फरार जीवी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्री रवि लामिछानेको आरोपको पनि खण्डन गर्नुभयो ।

“कुतर्क कसैले पनि गर्न हुँदैन । जीवी राईलाई पक्राउ गर्न राहदानीका कारण समस्या भएको हो  । उसलाई ल्याउने तयारी भइरहेको छ”, उहाँको स्पष्ट जवाफ थियो, “अघिल्लो सरकारले, प्रधानमन्त्रीले, गृहमन्त्रीले भगायो भन्नु कुतर्क हो ।”

यसै बिच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वपश्चिम राजमार्गको नारायणगढस्थित नारायणी नदीमा बन्न लागेको पुलको सोमबार शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :