मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने – प्रधानमन्त्री पुष्पकमल दाहाल

Article Inline top 1

वैशाख २२ ,सर्लाही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।

नेकपा (माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ‘प्रचण्ड’ले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गर्नुभयो।

Article Inline 2

मिटरब्याज पीडितका समस्या समाधान गर्न र नागरिकता विहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उहाँले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाउनुभयो।

तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकत्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेसमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ।”

मधेसका जनताको मुक्तिका लागि यहाँका जनताले ठुलो त्याग गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जनताका मुक्तिका लागि सङ्घर्ष गर्ने सम्पूर्ण सहिदप्रति सम्मान व्यक्त गर्नुभयो। उहाँले बलरा र सर्लाहीका जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :