चैत ११ ,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले का अध्यक्ष केपी शर्मा ओलीले होली पर्वले समाजलाई एकताबद्ध बनाउने बताउनुभएको छ । ललितपुर, च्यालसस्थित पार्टी मुख्यालयमा आईतवार मधेस प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको होली मिलन कार्यक्रममा उहाँले होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो ।
“होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न प्रेरणा दिन्छ । राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ । हामी सबैलाई यस्तै प्रेरणा मिलोस”, उहाँले भन्नुभयो, “हामी जहाँ भएपनि जुन भूगोलमा बसे पनि सबैको उद्देश्य भनेको नेपाल समृद्ध हुनुपर्छ । होलीको सन्देशले यो कुरामा बल थपोस । त्यसका लागि राष्ट्रिय एकता मजबुत बनाओस् ।”
अध्यक्ष ओलीले होलीलाई विकृत बनाउन नहुने र होलीका नाममा देखिएको अनुचित पक्षलार्ई रोक्नुपर्ने बताउनुभयो । उहाँले होलीलाई सामाजिक मर्यादाभित्र रहेर खेल्नुपर्ने भन्दै कसैलाई जबरजस्ती रङ्ग दल्न नहुने उल्लेख गर्नुभयो ।