चैत्र १,गैँडाकोट । आर्थिक वर्ष २०७९/०८० को कार्य सम्पादन मूल्याङ्कनमा गैँडाकोट नगरपालिका देशभरका स्थानीय तहमा छैठौ स्थानमा पर्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट स्थानीय तहको कार्य सम्पादनमा आधारित अनुदान सिफारिस प्रयोजनका लागि १७ वटा सूचकहरुको कार्य सम्पादन मूल्याङ्कनमा गैँडाकोट नगरपालिका उत्कृष्ट ६ मा परेको छ । यसअघि आयोगले प्रारम्भीक नतिजा सार्वजनिक गरेको थियो । गत फागुन ८ गते प्रकाशित गरी पुनरावलोकनका लागि सात दिनको समय दिई सो अवधिमा प्राप्त निवेदन माथि कारवाही भइ प्राप्त हुनु भएको अन्तिम नतिजा सार्वजनिक गरेको हो । यसकै नतिजाका आधारमा वित्तीय समानीकरण अनुदानमा उत्कृष्ट स्थानीय तहहरुलाई प्राथमिकतामा राखिनेछ ।
गैँडाकोट नगरपालिकाले ७७ दशमलब २३ अंकका साथ छैठौँ स्थानमा रहन सफल भएको छ । यसैगरी भरतपुर महानगरपालिका दोस्रो स्थानमा रहेको छ । भरतपुरको ८० दशमलब २९ अंक रहेको छ । यसैगरी प्रथम स्थानमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ८५ दशमलब ८१ अंक, तेस्रो नम्बरमा गुल्मीको मालिका गाउँपालिकाको ७९ दशमबल ४० अंक, चौँथोमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ७७ दशमलब ८४ अंक र पाचौँ नम्बरमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको ७७ दशमलब ७६ अंक रहेको छ ।
यता, नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्लामा गैँडाकोट नगरपालिका पछि क्रमशः देवचुली नगरपालिका (७२.१८), मध्यविन्दु नगरपालिका (६७.११), कावासोती नगरपालिका (६४.२६), बौदीकाली गाउँपालिका (६४.८९), हुप्सेकोट गाउँपालिका (६३.९६), विनयीत्रिवेणी गाउँपालिका (५२.५८) परेका छन् । कार्यसम्पादन मूल्याङ्नमा सबैभन्दा पछाडि बुलिङटार गाउपालिका ३४.७७ सहित पुछारमा रहेको छ ।
आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गरेको छ । जसमा असार १० भित्र बजेट पेश गरे–नगरेको, असार मसान्तभित्र बजेट पारित गरे–नगरेको, आयव्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे–नगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे–नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरे–नगरेको जस्ता सूचकहरुका आधार मुल्याङ्कन गरिएको र यी विषयमा गैँडाकोटको कार्यसम्पादन उत्कृष्ट रहेको गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले जानकारी दिनुभयो ।
मूल्याङ्कनको आधारमा आवधिक योजना तर्जुमा गरे–नगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १–६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवती मध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका थिए ।