फागुन १२,गैडाकट । नेपाल शिक्षक संघ गैंडाकोटको पाँचौ नगर प्रतिनिधि सभा जनक नमुना माध्यमिक विद्यालयको सभाहलमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले शिक्षकले आफ्नो पेशा र सेवा प्रतिको जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै शिक्षकका समस्या र मागलाई नगरपालिकाले सम्बोधन गर्न सदा सकारात्मक रहेको कुरा व्यक्त गर्नुभयो ।
प्रतिनिधि सभाले प्रत्येक महिना शिक्षकको तलब प्रदान गर्नका लागि नगर पालिकामा माग गर्ने , एउटा पालिकामा एउटा मात्र नभएर आवश्यकता आधारमा प्राविधिक विद्यालय सञ्चालनका लागि राष्ट्रिय नीतिमा नै परिमार्जन गर्न र प्रत्येक पालिकामा विज्ञान सम्बन्धि अध्ययन अनुसन्धानमा आधारित सिकाइ पार्कको रूपमा इन्नोभेसन जोनको स्थापनाको लागि राष्ट्रिय नीति तथा कार्यक्रममा राख्नका लागि राष्ट्रिय आवश्यकताको मुद्दा बनाउने माग उठान सहितका महत्वपूर्ण निर्णय गरेको छ।
कार्यक्रममा बोल्दै सम्पूर्ण अतिथिहरुले नेपाल शिक्षक संघले विगतमा उठाएका विषय र माग राष्ट्रिय मुद्दा बनेको स्मरण गर्दै नेपाल शिक्षक संघ प्रति गर्व गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस का प्रतिनिधी सभा क्षेत्र नं १ (क ) का सभापति गोपाल सापकोटा , नेपाली कांग्रेस नगर सभापति बद्री सापकोटा , नेपाल शिक्षक संघ प्रदेश उपाध्यक्ष बिष्णु प्रसाद रिजाल , नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष इन्द्रराज भट्टराई , नेपाल शिक्षक संघ नवलपुर जिल्ला अध्यक्ष चूडामणि शर्मा कंडेल , नगरपालिका शिक्षा अधिकृत रामप्रसाद अधिकारी,जिल्ला सचिव जयनारायण सापकोटा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्न सफल नेपाल शिक्षक संघ नवलपुरका संस्थापक अध्यक्ष चूडामणि शर्मा कंडेल र सेवा निवृत्त शिक्षक भुवन आले, बामदेव घिमिरे , हरि सुवेदी , राधिका भण्डारी , जौमाया श्रेष्ठ , टेक बहादुर आले र प्रमिला लम्साल लाई सम्मान गरिएको थियो ।
गैंडाकोट नगर भित्र शिक्षण पेशामा नव प्रवेश गर्नुहुने शिक्षकहरुलाई स्वागत गरिएको थियो । शिक्षक कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष राजुपुरी ले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा सचिव मोहन भण्डारीले प्रगति प्रतिवेदन तथा भावि कार्यक्रम र अर्थ सचिव अनिल कंडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रम नगर अध्यक्ष सूर्यनाथ तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । कायक्रमको सहजीकरण सचिव मोहन भण्डारीले गर्नुभएको थियो ।






