फागुन ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवको रुपमा सञ्चालन भइरहेको चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “चुरे क्षेत्रको जैविक विविधता, प्राकृतिक स्रोत, पानी र स्थानीय वासिन्दाको समग्र संरक्षण र दिगो उपयोगमा सरकार प्रतिवद्ध छ ।” चुरे क्षेत्रका नदीहरूको कटानको असर रोक्न नदी नियन्त्रण र तटबन्धका कामहरु सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिमार्फत चुरे र मधेस संरक्षणका अरु पनि कार्यक्रमहरू वार्षिक रुपमा सञ्चालन भईरहेको बताउनुभयो । “अर्थतन्त्रका प्रायः सूचकहरु सकारात्मक छन् तर केही क्षेत्रमा अझै चाप रहेको छ।
अर्थतन्त्रमा देखा परेका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत् देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ ।” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “कृषि, पशुपछींपालन, घरेलु, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सामुहिक उद्यमशिलतामार्फत् उत्पादन र रोजगारी बढाउने विशेष कार्यक्रम ७५३ वटै पालिकाहरुमा कार्यान्वयन गर्ने गरी अघि बढाइदै छ । स्वदेश फर्किएर आफ्नै भूमिमा रोजगारी, स्वरोजगारी गर्न चाहनेले यस कार्यक्रममा सहभागि हुन विदेशबाटै आवदेन दिन सक्ने गरी नयाँ व्यवस्था गरिँदैछ ।”






