spot_img

Thursday, February 13, 2025

यी साझा सभ्यता र संस्कृतिले हामीलाई समन्वय, सामञ्जस्य, एकता, सद्भाव र उदारता सिकाएका छन्- राष्ट्रपति

फागुन २ ,पाँंचथर । राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहिएको बताउनुभएको छ ।

पाँंचथर बहुमुखी क्याम्पसले फिदिममा बुधबार आयोजना गरेको महापुराण तथा बहुधार्मिक आध्यात्मिक महोत्सव–२०८० को उदघाट्न गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।  “हामी विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्य, सद्भाव र सहकार्यसहितको सबल, समावेशी र उन्नत राष्ट्र चाहन्छौं”, पौडेलले भन्नुभयो, “यस्तो राष्ट्र जो कसैलाई निषेध गरेर हैन, सबैलाई समान दर्जा, अधिकार र स्वामित्व दिएर बन्छ । सबैलाई एकताबद्ध गरेर बन्छ । सबैलाई बराबरी सम्मान दिएर बन्छ । आपसमा निषेध, घृणा, द्वन्द्व र अविश्वासको हैन, सम्मान, एकता, सहिष्णुता र सद्भावको विकास गर्न सकेमात्र हामी सबै सबल हुनेछौं ।”

  • -advertisement-

उहाँले हाम्रो देश पूर्वीय ज्ञान परम्पराको स्रोत भएको तथा यो ज्ञान, परम्परा र सभ्यताभित्र मुख्यतः किराँत सभ्यता, सनातन वैदिक सभ्यता र बौद्ध सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने पनि उल्लेख गर्नुभयो ।

“हामी वेद, मुन्धुम र त्रिपिटकले दिएको अनमोल ज्ञानको ज्योतिले प्रदीप्त छ छौं” पौडेलले भन्नुभयो, “यो भूमि हाम्रा विभूति महागुरु फाल्गुनन्दको भूमि हो र महागुरु फाल्गुनन्दले आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधारका निम्ति किराँत संस्कृतिको उत्थान तथा संरक्षणको लागि यही साधना र सङ्घर्ष गर्नुभएको थियो । उहाँको योगदानले हाम्रो समाज र सभ्यतालाई ठूलो योगदान पुगेको छ ।  उहाँले स्थापना गर्नुभको ‘सत्य धर्म मुचुल्का’ को नीति र धर्म सन्देशले हामीलाई मार्गदर्शन गरिरहनेछ ।”

उहाँले अगाडि भन्नुभयो, “यी सबै हाम्रा हुन् । यी साझा सभ्यता र संस्कृतिले हामीलाई समन्वय, सामञ्जस्य, एकता, सद्भाव र उदारता सिकाएका छन् । किनभने यी एक जातिका वा धर्मका स्रोत होइनन् । वेद हामी सबैको हो । मुन्धुम हामी सबैको हो । त्रिपिटक हामी सबैको हो । हामी अनेक जात, संस्कृति, सम्प्रदायमा छौं । तर सबै हामी नै हौं र ती सबैको एकता, समभाव र सहअस्तित्व नै हाम्रो मुख्य परिचय हो ।”

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार