माघ २३,गैँडाकोट । गैँडाकोटमा ‘तेस्रो (वडा स्तरीय) गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०८० हुने भएको छ ।
नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ थुम्सीको आयोजनामा यहि माघ २७ गतेदेखी फागुन २ गतेसम्म प्रतियोगिता हुन लागेको हो । नवजागरण खेलकुद मैदानमा हुने प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजक नवजागरण ग्रामीण विकास केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।
यसअघि राष्ट्रिय स्तरको गरिएकोमा यसपटक स्थानीय खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि गैँडाकोट नगर कार्यपालिका स्तरको निर्णय अनुरुप वडा स्तरीय प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक संस्थाका संस्थापक अध्यक्ष एवं वर्तमान सदस्य पिताम्बर सापकोटाले जानकारी दिनुभयो ।
प्रतियोगिताका संयोजक विष्णुप्रसाद कँडेलले यहि २५ गते साँझ ४ बजेसम्म टीम दर्ताको समय रहेको जानकारी दिनुभयो । वडाबाट आउने टीमको टुङ्गो लागेपछि सोही दिन ५ बजे खेल तालिका प्रकाशन गरिने उहाँले बताउनुभयो ।
नवलपुर क्रिकेट संघका अध्यक्ष एवं गण्डकी प्रादेशिक क्रिकेट संघका सदस्य तथा प्रतियोगिताका निर्देशक धामनाथ सापकोटाले नगरमा निरन्तर खेल हुनु सकरात्मक रहेको बताउँदै यसले खेल र खेलाडीलाई अगाडी बढाउन सहज हुने बताउनुभयो ।
प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार र द्वितीय पुरस्कार ३१ हजार रुपैयाँ रहेको छ । त्यस्तै म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट ब्याटसम्यान, बेष्ट बलर, बेष्ट विकेट किपरलाई पुरस्कृत गरिने छ ।
प्रतियोगितामा गैँडाकोट नगरपालिकाको प्रबद्र्धक, सेन्ट्रल कलेज प्रयोजक र चन्द्रशेर बालुवा प्रशोधन उद्योग सह प्रयोजकका रुपमा रहेका छन् । अहिले खेल मैदानको रङरोगन एवं मैदान स्तारोन्नती लगायतका काम चलिरहेको आयोजक संस्थाका सचिव कल्पना देवकोटाले जानकारी दिनुभयो ।






