माघ १९,गैँडाकोट (प्रेम क्षेत्री) । सिमसार क्षेत्रको पुर्नस्थापना आजको आवश्यकता रहेको सरोकारवालाहरुले बताएका छन् । विश्व सिमसार दिवसको अवसरमा गैँडाकोटको ढवाह तालमा आयोजित कार्यक्रममा उनीहरुले सिमसार मानव जीवनसँग जोडिएको बताउँदै पानीको स्रोत समेत रहेको बताएका हुन् ।
कार्यक्रममा सब डिभिजन वन कार्यालय गैँडाकोटका फरेष्टर दिनेश केसीले सिमसारलाई पृथ्वीको मृगौला जस्तै रहेको बताउँदै प्रकृतिको इन्जिनियरका रुपमा व्याख्या गर्नुभयो । उहाँले तालको जर्गेना गर्न सके जीवलाई सहज बनाउँदै जाने बताउनुभयो । समुदायभित्र रहेका ताल तलैया संरक्षण गर्न सके जीविकोपार्जनमा पनि सघाउन पुग्ने उहाँको भनाई थियो ।
नन्दन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बालकृष्ण गौडेलले सिमसार भनेको माटो र पानीको समिश्रण रहेको बताउँदै जैविक विविधता संरक्षणमा सिमसारको महत्त्व रहेको बताउनुभयो । उहाँले ढवाह ताललाई संरक्षण गरेर आम्दानीको स्रोत बनाउनेतर्फ अग्रसर रहेको बताउँदै सबैले यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
नन्दन वनका उपाध्यक्ष बालकृष्ण शर्माले अहिले पानी सुक्दै जाने अवस्था आएकाले सिमसारको जगेर्ना गर्न आवश्यक रहेको बताउनुभयो । नन्दन वनका सचिव कमला शर्माले सिमसार र पर्यापर्यटनका क्षेत्रमा लगानी गरे यसले संस्था सञ्चालनमा समेत सहज हुने बताउनुभयो । नन्दन वनका कोषाध्यक्ष एवं ढवाह ताल निर्माण उप समितिका संयोजक बेलप्रसाद पौडेलले पानी विना जीवन कल्पना समेत गर्न नसकिने भएको हुँदा यसको संरक्षणका लागि अभियानमा नै रहेको बताउनुभयो ।
सिमसारः मानव हितको आधार भन्ने नारासहित यसपटकको सिमसार दिवस गैँडाकोट ९ स्थित ढहाव तालमा नन्दन वनले कार्यक्रम गरी मनाएको हो ।