माघ १८,गैँडाकोट । स्वतन्त्र विद्यार्थी युनियन कालिका संस्कृत विद्यापीठको आयोजनामा बिहीबारदेखी गैँडाकोटमा तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । नवलपुर क्षेत्र नम्बर १ का संसाद डा. शशांक कोइरालाले खेलको उद्घाटन गर्नुभएको हो । प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलमा सहभागि हुनु नै ठुलो रहेको बताउँदै स्थानीय स्तरमा हुने खेलाडी नै पछि राष्ट्रिय स्तरमा पुग्न सक्ने भन्दै मन लगाएर खेल्न हौसला प्रदान गर्नुभयो ।
त्यस्तै सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले विद्यार्थीलाई हौसला, प्रेरणा र सहयोग गर्न कलेज सँधै तयार रहेको बताउँदै खेल क्षेत्रको विकासका लागि आगामि दिनमा पनि सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कालिका संस्कृत विद्यापीठका अध्यक्ष ओमप्रसाद सापकोटाले सामाजिक विकासमा तिलकप्रसाद सापकोटाको योगदानको स्मरण गराउनुभएको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा अक्सफोर्ड कलेज विजयी भएको छ । एसपिएम कलेजलाई १–० गोल अन्तरले पराजित गर्दै अक्सफोर्ड कलेज विजयी भएको हो । प्रतियोगितामा प्रथम पुरस्कार ६६ हजार ६ सय ६६, द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ । प्रथम पुरस्कार तिलकप्रसाद सापकोटा परिवार र द्वितीय पुरस्कार सेन्ट्रल कलेजले प्रायोजन गरेका हुन् । प्रतियोगिता सञ्चालनका लागि करिब साढे ३ लाख खर्च हुने अनुमान गरिएको छ ।
कालिका संस्कृत विद्यापीठका संस्थापक तिलकप्रसाद सापकोटाले विद्यापीठलाई नेपाल संस्कृत विश्वविद्यालयबाट आङ्गिकता प्राप्त गराउन अहम भूमिका निर्वाह गर्नुभएको थियो । समाजसेवी एवम् राजनीतिक व्यक्तित्व सापकोटाको गत २०७९ कार्तिक २३ गते निधन भएको थियो ।