माघ १८,नवलपुर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सजिलै पद नछाड्ने टिप्पणी गरेका छन् ।
नवलपुरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस पूर्वमहामन्त्री शशांकले राष्ट्रिय सभा निर्वाचनमा कोशीको परिणामले झड्का लागे पनि सरकार परिवर्तन नहुने बताए । पूर्व समझदारीअनुसार प्रचण्डपछि माधवकुमार नेपाल र शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्ने भन्दै उनले भने, ‘तर प्रचण्डजी अत्यन्त म्यानुपुलेटेड हुनुहुँदोरहेछ । उहाँले सजिलोसँग छोड्नुहुन्न ।’
उनले सरकारको कामकारबाहीप्रति पनि असन्तुष्टि जनाए । प्रधानमन्त्री प्रचण्ड आफैं मन्त्रीहरुको कामसँग सन्तुष्ट नरहेको भन्दै उनले भने, ‘उहाँले परिर्वतन खोज्नुभएको छ । तर यो संयुक्त सरकार भएकाले दलहरुसँग संवाद गर्नुपर्छ ।’
एक फरक प्रसंगमा उनले पार्टीको आसन्न महासमिति बैठकमा संघीयता र धर्मनिरपेक्षताको विषयमा छलफल हुने बताए । संघीयता राम्रो भए पनि सञ्चालन गर्नेहरुको सोच केन्द्रीकृत भएका कारण प्रश्न उठेको उनले बताए ।







