राज्यका सबै निकायले जनताको आत्मसम्मानमा चोट पुग्ने कुनैपनि काम गर्नै नहुने – रक्षामन्त्री पूर्णबहादुर खड्का

Article Inline top 1

माघ १५ ,काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेका पदाधिकारी तथा संम्वद्ध सबैले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपालको संविधानले नै राज्यशक्तिको मूल स्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको भन्दै जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने उपप्रधानमन्त्री खड्काको भनाइ छ ।

Article Inline 2

रक्षामन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री खड्काले आज नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षणपछि सम्बोधन गर्नुहुँदै राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनैपनि काम गर्नै नहुनेमा जोड दिनुभयो ।

उहाँले राजनीतिकर्मी, निजामती कर्मचारी, सेना, प्रहरीलगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे आम नागरिकले पनि अपनत्वको भाव देखाउने बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिक भन्दा ठुलो अरू कोही पनि नभएकोले हरेक क्षेत्रमा काम गर्नेहरूको काम, कर्तव्य र अधिकार फरक–फरक भएपनि आम नागरिकको सम्मान, उन्नति र प्रगति सबैको साझा लक्ष्य हुनुपर्ने कुरा प्रष्ट पार्नुभयो ।

यस्तै, उपप्रधानमन्त्री खड्काले सैनिक सेवामा प्रवेश गरी प्रशिक्षणमा रहनु भएका अधिकृतहरूलाई सदैव सकारात्मक सोचाइ, सिक्ने अभिरुचि, दृढ इच्छाशक्ति तथा निरन्तर लगावका साथ राष्ट्र सेवामा लाग्न सुझाव दिनुभयो ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “आफूलाई देशको एक अब्बल र अनुशासित सैनिक अधिकृतको रूपमा स्थापित गर्न तपाईँ स्वयंको जिम्मेवारी अरूको भन्दा बढी हुन्छ भन्ने कुरामा तपाईँहरूले सदैव हेक्का राख्नुपर्दछ । विशेषगरी, तालिममा सिकाइएका सैद्धान्तिक ज्ञानलाई समयसापेक्ष रूपमा व्यवहारमा लागू गर्न सक्ने खुबीको विकास तपाईँहरूमा हुनै पर्छ ।”

यस्तै, यस प्रतिष्ठानले नेपाली सेनालाई प्राप्त जिम्मेवारी कुशलतापूर्वक वहन गर्न सक्षम तुल्याउने, बफादार, अनुशासित, नैतिकवान तथा दक्ष सैनिक अधिकृत उत्पादन गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै  आएको भन्दै त्यसका लागि सबैलाई धन्यवाद दिनुभयो ।

उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “नेपाली सेनाका लागि आवश्यक दक्ष, चरित्रवान् र राष्ट्रप्रति समर्पित जनशक्ति तयार गर्न महत्त्वपूर्ण र अग्रणी भूमिका निर्वाह गर्दै आएको यस प्रतिष्ठानले आफूलाई “उत्कृष्टता केन्द्र’’ को रूपमा स्थापित र परिचित गराउन गरिरहेको प्रयास प्रशंसनीय छ । आफ्नो सुनौलो विगत टेकेर प्रतिष्ठानले भविष्यमा थप प्रभावकारी तथा व्यावसायिक ढङ्गले शिक्षण (प्रशिक्षण) कार्यलाई अगाडि बढाई आफ्नो गौरवमय इतिहासलाई अझ उजिल्याउँदै जानेछ भन्ने मैले विश्वास लिएको छु ।”

निरीक्षण भ्रमण कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा सहितका अधिकारीहरू समेत सहभागी रहनु भएको थियो । गोरखापत्र अनलाइन

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :