माघ ६ ,गैँडाकोट (प्रेम क्षेत्री) । नेपाली काँग्रेसका उपसभापति, कार्यबाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गठबन्धनको पक्ष र विरोधीका रुपमा व्याख्या गर्न भन्दा पनि वर्तमान बनाउनेतर्फ लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
नेपाली काँग्रेस प्रशिक्षण शाखा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को आयोजनामा गैँडाकोटमा तीन दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले नेपाली काँग्रेसको नेतृत्वमा देशमा ठूलो परिवर्तन भएको बताउँदै प्रचार प्रसार गर्न नसक्दा पछि परेको जस्तो देखिएको बताउनुभयो । अन्य दलसँग गठबन्धन गरेकै कारण नेपाली काँग्रेस स्थानीय, प्रदेश र संघमा समेत ठूलो पार्टी बनेको स्मरण गराउँदै उहाँले वर्तमान राम्रो बनाउन सके २०८४ सालमा एक्लै चुनाव लड्ने अवस्था आउने बताउनुभयो ।
काँग्रेसका नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख समेत रहनुभएका खड्काले भन्नुभयो, “गठबन्धन सँधै गजबै गजब हुन्छ, गठबन्धन सधै बेठिकै बेठिक हुन्छ भन्नु भन्दा पनि त्यो समयको आवश्यकता, तत्कालिन राजनीतिक परिवेशको आवश्यकता, तत्कालिन दलहरुको प्रतिस्पर्धाको अवस्था, घटनाक्रम सबै हेरेर निष्र्कषमा पुगिन्छ ।”
कार्यबाहक प्रधानमन्त्री खड्काले सुकुमबासी, अव्यवस्थित बसोबासी र भूमिहिन दलितलाई लालपूर्जा उपलब्ध गराउँदा लाग्ने राजस्व घटाउने तयारीमा रहेको बताउनुभयो । उहाँले दुई हप्ता भित्रै मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरी सार्वजनिक गर्ने बताउनुभएको छ । त्यस्तै उहाँले प्रशासनिक कार्य चुस्त गराइने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, नेपाली काँग्रेसका जिल्ला सभापति एवं गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाली काँग्रेसका गण्डकी प्रदेश प्रशिक्षण विभाग उप प्रमुख डा. कुश्माखर न्यौपानेले मन्तव्य राख्दै नयाँ तथा पुराना पार्टी एवं प्रतिपक्ष लगायत सबैले नेपाली काँग्रेसलाई अहिले चौतर्फी आक्रमण गरिरहेको बताउँदै त्यसको प्रतिकार गर्न कार्यकर्ता तयार रहनुपर्ने बताएका थिए । त्यसका लागि अध्ययनमा जोड दिनुपर्ने उनिहरुको तर्क थियो ।
विजय विकास स्रोत केन्द्रको सभाहलमा सुरु भएको प्रशिक्षण कार्यक्रममा समसमायीक विषयहरु, पार्टी नेतृत्व र नेतृत्व विकास, समाजवादी, पूँजीबादी र सम्यवादी अर्थतन्त्र, जलवायु परिवर्तन र हाम्रो भूमिकाका विषयमा छलफल गर्नुका साथै लघु प्रशिक्षण सञ्चालनबारे प्रशिक्षण दिइने भएको काँग्रेस नवलपुरका उप सभापति एवं प्रशिक्षण शाखा प्रमुख बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा कम्तीमा पनि पाँच वर्ष पार्टीमा कृयाशिल सदस्यको रुपमा रहेको, कक्षा १२ पास भएको, सञ्चार सम्वन्धी राम्रो सिप भएको र प्रशिक्षण सम्बन्धि अनुभव भएका व्यक्तिलाई छनोट गरिएको छ । कार्यक्रममा गाउँपालिकाबाट एकजना महिला सहित चारजना र नगरपालिकाबाट एक महिला सहित पाँचजना र जिल्ला तहका गरी ४५ बढी नेता कार्यकर्ता सहभागि छन् ।