spot_img

Friday, May 16, 2025

स्वास्थ्य बिमा गराएका व्यक्तिले उपचार गराएको १० प्रतिशत रकम आफैँले तिर्नुपर्ने व्यवस्था लागु

 माघ २,काठमाडौँ। स्वास्थ्य बिमा गराएका व्यक्तिले उपचार गराएको १० प्रतिशत रकम आफैँले तिर्नुपर्ने व्यवस्था लागु भएको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक प्राडा दामोदर बसौलाले स्वास्थ्य बिमा गरेका नागरिकले १० प्रतिशत रकम बिरामी आफैँले तिर्नुपर्ने सहभुक्तानी प्रणाली माघ १ गतेदेखि लागु भएको बताउनुभयो ।

उहाँले बिमा गरेका व्यक्तिले आफूले पाउने सुविधाबापतको रकम बाँकी भएको भन्दै चिकित्सकलाई ‘होलबडी’ स्वास्थ्य परीक्षण गराउन दबाब दिएकै कारण १० प्रतिशत सहभुक्तानीको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्राडा बसौलाले कतिपय निजी अस्पतालले बिरामीको स्वास्थ्य बिमा छ भन्दैमा जथाभावी परीक्षण गराइदिने प्रवृत्ति बढेपछि स्वास्थ्य बिमामा बिरामीले १० प्रतिशत आफैँले तिर्नुपर्ने व्यवस्था गरेको बताउनुभयो ।

स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बिमा बोर्डले १० प्रतिशत बिमितले तिर्नुपर्ने व्यवस्था लागु भएपछि स्वास्थ्य बिमा सुधार हुँदै जाने बताउनुभयो । उहाँले बिमितले मेरो बिमाबापतको शुल्क बाँकी छ भन्दै चिकित्सकलाई परीक्षणका लागि दबाब नदिने र अस्पतालले पनि जथाभावी परीक्षण नगराउने बताउनुभयो ।

अध्यक्ष डा. लोहनीले स्वास्थ्य बिमा गरिएका अस्पतालबाट प्रदान गरिने बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक, उपचारात्मक, शल्यक्रिया, फिजियोथेरापी, पुनस्र्थापनालगायतका सेवामा १० प्रतिशत सहभुक्तानीको व्यवस्था लागु हुने जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले निःशुल्क सेवा प्रदान गरेका कार्यक्रममा भने यो व्यवस्था लागु नहुने बताउनुभयो ।

सरकारले निःशुल्क गरेका कार्यक्रममा आमा सुरक्षा, बाल रोगको एकीकृत व्यवस्थापन, क्षयरोग, कुष्ठरोग, औलो, कालाजार, हात्तीपाइले रहेका छन् । यस्तै सरकारद्वारा सञ्चालित खोप, परिवार नियोजन, सुरक्षित मातृत्वलगायत अन्य जनस्वास्थ्य सेवा अन्तर्गतका कार्यक्रम, महामारी रोगको नियन्त्रण, रोकथाम, निर्मूलन र उन्मूलनमा गरिने सेवा, सामूूहिक भवितव्य, दुर्घटना, महामारी, आपत्कालीन सेवा, सर्पदंश, कुकुरको टोकाइ, योग, पोषण शिक्षा, बानीव्यहोरा सुधार, मनोसामाजिक परामर्श जस्ता प्रवर्धनात्मक सेवा र आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पर्ने औषधीमा पनि सहभुक्तानीको व्यवस्था लागु हुने छैन ।

प्राथमिक स्वास्थ्य केन्द्र तथा २५ शैया सम्मका सरकारी अस्पतालमा भने १० प्रतिशत सहभुक्तानीको व्यवस्था लागु नहुने उहाँले जानकारी दिनुभयो । उहाँले नेपाल सरकारका सङ्घीय अस्पताल, २५ शैयाभन्दा माथिका प्रादेशिक अस्पताल, बिमा लागु भएका निजी तथा सामुदायिक अस्पतालमा पनि सहभुक्तानी व्यवस्था लागु हुुन्छ ।

यसैबिच स्वास्थ्य बिमा बोर्डले हाल सुविधा थैलीमा रहेको ओपिडी प्याकेज खर्च घटाएको छ । बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले हालसम्म स्वास्थ्य बिमामा आबद्ध व्यक्तिलाई ओपिडी शुल्कबापत दुई सय रुपियाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपियाँ र आकस्मिक शुल्कबापत चार सय लिँदै आएकोमा त्यसलाई घटाएर एक सय रुपियाँ तोकिएको जानकारी दिनुभयो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार