पौष २९ ,चितवन । थारू संस्कृति जोगाउनका लागि पुस २८ गते पूर्वी चितवनको खैरहनीमा नवौँ खिचरा महोत्सव सुरु भएको छ । थारू कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी नगरपालिका–५ गौचरनमा आगामी माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गरेका छन् ।
माघी पर्वका अवसर पारेर थारू समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारू खानाका परिकारको संरक्षण तथा प्रवद्र्धधन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । विगत नौ वर्षदेखि प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा खिचरा महोत्सव हुँदै आएको छ । महोत्सव मूल समारोह समितिका संयोजक रामेश्वर चौधरीका अनुसार महोत्सव सम्पन्न गर्न दुई सय एक सदस्यीय मूल आयोजक समिति र १५ विभिन्न उपसमिति गठन गरिएको छ ।
‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहुजाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरीएको महोत्सवमा एक सय ५० कक्ष छन् । चितवनमा विभिन्न ठाउँमा आर्थिक कृयाकलाप बढाउने उद्देश्यले मेला महोत्सव हुने गरे पनि आदिवासी थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न थारु कल्याणकारिणी सभाले खिचरा महोत्सव सुरु गरेको सभाका पुर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले बताए । हालका जिल्ला अध्यक्ष ललित चौधरीले चितवनमा ठुलो संख्यामा बसोबास गर्ने आदिवासी थारु समुदायको मौलिक रहन सहन, पोशाक परिकारहरु प्रवर्द्धन गरे बागमती प्रदेशकै पर्यटन विकासमा ठुलो टेवा पुग्ने बताए ।
तर प्रदेश सभामा थारुहरुको प्रतिनिधित्व रहन छाडेको हुँदा समानुपातिक समावेशी सिद्धान्तलाई व्यवहारमा ल्याउन मन्त्री लामासँग माग गरे । यसका साथै थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु पनि महोत्सवमा छन् ।