पुस ८ , काठमाडौं । नेकपा (एमाले) ले १८ दिने आफ्नो सङ्कल्प यात्रामा जनतामा आशा जगाउने काम गरेको जनाएको छ । झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्राबारे पत्रकारसँग गरिएको संवाद तथा पत्रकार सम्मेलनमा एमालेले सो कुरा जनाएको हो ।
मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरुभएको सङ्कल्प यात्रा पुसको १ गते पाँचथरको चिवाभञ्ज्याङमा समापन गरेको सो सङ्कल्प यात्राले नागरिकको समस्या सङ्कलन गरी आगामी दिनमा सम्बोधनको प्रयास गर्ने प्रतिबद्धता एमालेले जनाएको छ । प्राकृतिक र सांस्कृतिक रूपले धनी मध्यपहाडी क्षेत्रलाई समृद्ध बनाए मात्र मुलुकलाई समृद्ध बनाउन सकिने एमालेको बुझाइ छ ।
अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रमा युवालाई पलायन हुनबाट रोक्ने मुख्य चुनौती रहेको आफूले पाएको बताउनुभयो । सङ्कल्प यात्राले स्थानीय नागरिकमा विकासको आशा जगाएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “जनतामा विकासको ठुलो आशा भरोसा छ, कृषिलाई आधुनिकीकरण गर्दै युवालाई स्वरोजगार बनाउने प्रयास हामी गर्नेछौँ ।” पहाडी क्षेत्रमा फलफूल, तरकारी, जडीबुटीको खेती तथा हाइड्रोपावरको विकास गरी युवालाई स्वरोजगार बनाउन सकिन्छ, उहाँले भन्नुभयो ।
‘समृद्ध नेपाल र सुखी नेपाली’ को एमाले अभियानका लागि स्थानीय नागरिकले सुझाव र माग राखेको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “नागरिकले दिएको सुझाव र राखेको मागलाई लिपिबद्ध गरेका छौँ, यसबारे राजनीतिक दल, विषय विज्ञहरूसँग छलफल र परामर्श गरी समाधानको प्रयासमा लाग्नेछौँ ।” देशको अर्थतन्त्रको मेरुदण्ड पहाड भए पनि त्यहाँको प्राकृतिक सम्पदाको सदुपयोग गर्न नसक्दा मुलुक समृद्ध हुन नसकेको अध्यक्ष ओलीले बताउनुभयो ।
सङ्कल्प यात्राका क्रममा ३० जिल्लाका जनतासँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा अन्तरक्रिया गरेको जानकारी गराउनुहुँदै अध्यक्ष ओलीले राज्यको स्रोतको बाँडफाँट समुचित ढङ्गले हुन नसकेको बताउनुभयो । पहाडमा अहिले बाटोघाटोको विकास भएको, विजुलीबत्ती तथा टेलिफोन मोबाइल नेटवर्क सुविधा पुगेको भए पनि त्यसको सही व्यवस्थापनको खाँचो रहेको उहाँले बताउनुभयो ।
पहाडमा जीविकोपार्जनको अनेक उपाय रहे पनि युवालाई त्यसबारे प्रशिक्षित तथा स्रोत पहिचानमा राज्यको सहयोगको खाँचो रहेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्याप्त सिँचाइको व्यवस्था भए तरकारी तथा फलफूल खेतीको राम्रो सम्भावना छ । बाख्रापालनको त्यतिकै सम्भावना छ । त्यहाँ जलविद्युत आयोजनाको विकास गरी पहाडलाई समृद्ध बनाउन सक्ने आधारहरू छन् ।”
“अब मुलुकलाई गरिब राख्ने छुट नरहेको बताउँदै अध्यक्ष ओलीले सहयोग गर्ने जुनसुकै मुलुकबाट सस्तो लोन लिएर देशको विकास गर्नमा ध्यान दिनुपर्छ । अमेरिका, भारत, चीन, जोसुकै मित्रराष्ट्र देश किन नहोस् नेपाललाई सस्तो लोनमा सहयोग गर्नुभयो भने लिनुपर्छ” उहाँले भन्नुभयो । सबै देशसँग समान मित्रताको नीति अख्तियारी गरी नेपालको समृद्धि अभियानमा अरूलाई पनि जोड्न सक्नुपर्ने उहाँको भनाइ छ ।