पुस १ , बर्दिवास, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भूमण्डलीकरणको बहुआयामिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताउनुभएको छ । आइतबार जनता मावि गौरीडाँडाको स्वर्णजयन्ती समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’ले २१ औँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दबाबमा परेको भन्दै आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको बताउनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘२१ औँ शताब्दीको डिजिटल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयामिक दबाबमा पर्दै आएका छन् । तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ । हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ ।’’