मंसिर ,२९ गैँडाकोट । निकेशबाबु प्रतिष्ठान, गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र जलुके खानेपानी संस्थाको संयुक्त आयोजनामा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जम्मा ६६ जनाले रक्तदान गरेको छन् । ५२ जना पुरुष र १४ जना महिला गरी जम्मा ६६ जनाले रक्तदान गरेको निकेशबाबु प्रतिष्ठानका प्रमुख संरक्षक भरतबाबु कंडेलले जानकारी दिनुभयो ।
शुक्रबार नै सँगै भएको आँखा जाँच शिबिरमा २ सय ३७ जनाले आँखा जाँच गराएका थिए । आँखा जाँचका लागि भरतपुर आँखा अस्पताल र रक्तदानका लागि रक्तसञ्चार केन्द्र भरतपुरको प्राबिधिक सहयोग रहेको आयोजकहरुले बताएका छन् ।
कार्यक्रममा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ क्यान्सर रोग बिशेषज्ञ डा. प्रदिप न्यौपानेले क्यान्सर सम्बन्धी सचेतना सुझाबहरु दिनुभएको थियो । उहाँले पाठेघरको क्यान्सर, स्तन क्यान्सर, आन्द्राको क्यान्सर लगायतका क्यान्सर बढि देखिने क्यान्सर भएकाले त्यसमा बढी ध्यान दिन र खानपानको बानीलाई स्वस्थकर बनाउन आग्रह गर्नुभयो ।
अस्पतालमा रगत नपाएर छट्पटिनेलाई मात्र रगतको महत्व थाहा हुने र रगतदान गर्नु रगत दान मात्र नभई जिवन दान भएको कार्यक्रमका प्रमुख अतिथी एवं गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । रक्तदानले कमजोर बनाउछ भन्ने भ्रम रहेपनि त्यो सत्यता नभएकाले योग्य व्यक्ति जति सबैले रक्तदान गर्नुपर्ने बताउनुभयो ।
रक्तदानमा उत्साहित हुँदै रक्तदान गर्नुभएका रक्तदातालाई धन्यबाद दिदैँ गैँडाकोट १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले मानविय संबेदनशिलता बुझेर आवश्यकताका आधारमा कार्यक्रम गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो ।
सामाजिक कार्य र पुण्यको कामका लागि ३ संस्था मिलेर काम गरेको निकेशबाबु प्रतिष्ठानका संरक्षक सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले बताउनुभयो । यसले पुण्यको कार्यमा सहकार्य गरेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समिति सदस्य एवं कार्यक्रमका संयोजक नरहरि सापकोटाले सामाजिक उत्तरदायित्व सामाजिक संस्थाले बहन गर्दै विगतका बर्षदेखि नै यस्ताखाले कार्यक्रम गर्दै आएको बताउनुभयो । साथैे कार्यक्रम सफल बनाउन सहयोग गर्ने रक्तसञ्चार सेवा केन्द्र, भरतपुर आँखा अस्पताल लगायत सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा सरस्वती निकेतनका विद्यार्थीले मार्चपास प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य जलुके खानेपानी तथा उपभोक्ता समूहका अध्यक्ष जगन्नाथ पौडेलले राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण सरस्वती निकेतन आवासिय माध्यमिक विद्यालयका सह प्राचार्य लक्ष्मण कँडेलले गर्नुभएको थियो ।