गैँडाकोट । विजय सामुदायिक शिक्षा सदनले बुधबार एक भब्य समारोहका साथ स्काउट ट्रुप दोस्रो दीक्षान्त समारोह २०८० सम्पन्न गरेको छ ।
सामाजिक चरित्र, स्वास्थ्य जनकल्याण लगायतका क्षेत्रको विकासका निम्ति सैनिक प्रणालीका आधारमा तालिम प्राप्त शिक्षक विद्यार्थीहरुलाई दीक्षित गरिएको हो ।
विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रेखा श्रेष्ठ, शिक्षकहरु सन्तोष पाण्डे र इन्दिरा कार्कीसँगै २९ जना विद्यार्थीहरु दीक्षित भए । दीक्षित हुनेहरुमा १२ जना छात्र र १७ जना छात्रा रहेका छन् । आवश्यक तालिम पश्चात उनीहरूलाई एक समारोहकाबीच दीक्षित गरिएको हो । शिवरागिनी (कोनफाएर )समक्ष दीक्षित स्काउटरहरुले शपथ लिए ।
कार्यक्रममा प्रमुख अतिथि विजय सामुदायिक शिक्षा सहकारी संस्थाका संस्थापक अध्यक्ष केशवप्रसाद सापकोटाले स्काउटले विद्यार्थीहरुलाई अनुशासनमा रहन सिकाउने बताउँदै यसलाई व्यवहारमा पनि लागु गर्न आग्रह गर्नुभयो ।
विजय सामुदायिक शिक्षा सहकारी संस्थाका अध्यक्ष खेमराज सापकोटाले स्काउटले विद्यार्थीलाई शारीरिक, मानसिक र सामाजिक रुपमा अब्बल बनाउन भूमिका खेल्ने बताउनुभयो ।
विजय सामुदायिक शिक्षा सदन स्काउट ट्रुपका अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक रेखा श्रेष्ठले स्वागत गर्दै विद्यालयले विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउन विभिन्न कार्य गर्दै आएको र त्यस मध्यको एक स्काउट पनि रहेको बताउँदै यसलाई निरन्तरता दिने बताउनुभयो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष टीकाराम कँडेल, गैँडाकोट नगरपालिका आर्थिक विकास शाखा देवेन्द्र गौतम, प्रशिक्षक समेत रहनुभएका भरतपुर महानगरपालिकाका स्काउटका आयुक्त शिवप्रसाद बराल लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा विद्यार्थीहरुले स्काउट गान, नृत्य लगायतका विभिन्न प्रस्तुती देखाएका थिए । कार्यक्रममा स्काउट विद्यार्थीका अभिभावक पनि सहभागी थिए । आफ्ना बाबुनानीको प्रस्तुती र कृयाकलापले अभिभावकहरुले खुसी व्यक्त गरेका थिए ।