गैंडाकोट । शाइनिङ आवासीय माध्यमिक विद्यालयको आयोजनामा आइतबार विद्यालय परिसरमा सम्पन्न बृहत् खुला रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्नेमा ३२ जना पुरुष र २१ जना महिला रहेका छन्। कार्यक्रममा २८ जना नयाँ रक्तदाताले समेत रक्तदान गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी गैंडाकोट पालिका शाखा र लमजुङ–गैंडाकोट सम्पर्क समाजको सहआयोजनामा सम्पन्न रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुर, चितवनले प्राविधिक सहयोग गरेको थियो।
कार्यक्रममा शाइनिङ आवासीय माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद दवाडीले रक्तदानको महत्त्वबारे प्रकाश पार्दै यस्ता सामाजिक तथा मानवीय सेवाका कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
त्यसैगरी, १२४ पटक रक्तदान गरिसकेका खुमनाथ पौडेलले नियमित रक्तदानले आवश्यक परेका बिरामीको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले रक्तदानलाई मानवीय सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिनुपर्नेमा जोड दिए।
कार्यक्रमको उद्घाटन सत्रमा नेपाल रेडक्रस सोसाइटी गैंडाकोट पालिका शाखाका सचिव दोलराज पाण्डेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा पहिलो रक्तदाता तथा रक्तदान अभियानका अभियन्ता एवं कार्यक्रम संयोजक नारायण शर्माको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा सरस्वती माध्यमिक विद्यालयका सहायक प्राचार्य लक्ष्मण कँडेल, कन्टिनेन्टल इङ्लिस स्कुलका प्राचार्य विनोद पौडेल, विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधि, शिक्षक, कर्मचारी, रक्तदाता, अभिभावक, विद्यार्थी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रमले नियमित रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै नयाँ रक्तदातालाई रक्तदान अभियानमा सहभागी हुन प्रेरित गरेको आयोजकले जनाएको छ।










