गैँडाकोट । गैँडाकोट नगरपालिका–१६, अमरापुरीमा अमरापुरी दाँत घर सञ्चालनमा आएको छ। दाँत तथा मुख स्वास्थ्य सम्बन्धी सेवा स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यसहित स्थापना गरिएको दाँत घरको आज औपचारिक उद्घाटन गरिएको हो।
विजयकुमार महतोको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा गैँडाकोट नगरपालिका–१६ का वडाध्यक्ष विनोदकुमार मल्ल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।अमरापुरी दाँत घरबाट दाँत तथा मुख स्वास्थ्यसम्बन्धी विभिन्न सेवा उपलब्ध हुने जनाइएको छ। यहाँ दाँतको नियमित जाँच, सफाइ, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जराको उपचार (आरसीटी), दाँतमा सिमेन्ट भर्ने, क्राउन तथा ब्रिज, इम्प्लान्ट, कृत्रिम दाँत जडान र दाँतमा तार लगाउनेलगायतका सेवा उपलब्ध हुनेछन्।
त्यसैगरी बालबालिकाको दन्त उपचार, गिजासम्बन्धी उपचार, दाँतमा हिरा जडान तथा अन्य विशेष दन्त उपचार सेवा पनि प्रदान गरिने दाँत घरले जनाएको छ।विशेषज्ञ चिकित्सकद्वारा दन्त उपचार सेवा प्रदान गर्ने लक्ष्यसहित सञ्चालनमा आएको यस दाँत घरबाट अमरापुरी तथा आसपासका क्षेत्रका स्थानीय बासिन्दा लाभान्वित हुने अपेक्षा गरिएको छ। यसबाट दन्त उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।









