गैँडाकोट । नमुना शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चौथो नेतृत्व चयन प्रक्रियाअन्तर्गत उम्मेदवारी फिर्ताको समयावधि थप गरिएको छ। संस्थाको १३ औँ वार्षिक साधारण सभा तथा चौथो नेतृत्व चयन कार्यक्रम अन्तर्गत विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका उम्मेदवार बीच आपसी सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ।
सहमति जुटाउन गठित सहजीकरण कार्यदललाई जिम्मेवारी दिइएको भए पनि असोज १७ गतेसम्म सहमति हुन नसकेपछि अन्तिम प्रयासका लागि २ दिन समय थप गरिएको थियो त्यो समयमा पनि सहमति नजुटेपछि १ दिन समय थप गरिएको निर्वाचन समितिले जनाएको छ।
उम्मेदवारी फिर्ताका लागि थप १ दिन समय थपेर असोज २० गते बेलुकी ५ बजेसम्म गरिएको निर्वाचन समितिका संयोजक खगराज सापकोटाले जानकारी दिनुभएको छ।
संस्थामा अध्यक्षसहित विभिन्न पदमा चाहिने भन्दा बढी उम्मेदवार रहेकाले निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयनका लागि निरन्तर पहल गर्दै आएको छ। सर्वसम्मति हुन नसकेको अवस्थामा निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गरिनेछ।









