गैंडाकोट । सीमान्तकृत समुदायका महिला तथा किशोरीहरूको अधिकार, नेतृत्व विकास र स्थानीय तहमा अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित ‘समान आवाज’ (Equal Voice) कार्यक्रमअन्तर्गत गैंडाकोट नगरपालिका वडा नं. १४ मा जातीय विभेदविरुद्धको नागरिक सचेतना कार्यक्रम सम्पन्न भएको छ।
द स्टोरी किचनको आयोजना, गैंडाकोट नगरपालिकाको नेतृत्व, कोडी इन्स्टिच्युट, क्यानडाको सहयोग तथा गैंडाकोट नगरपालिका वडा नं. १४ को सहकार्य र समन्वयमा आयोजित कार्यक्रममा सीमान्तकृत समुदायका ४० जना महिलाको सहभागिता रहेको थियो।
कार्यक्रममा जातीय विभेद, सामाजिक असमानता, लैंगिक विभेद, महिला अधिकार तथा कानुनी प्रक्रियाका विषयमा अन्तरक्रिया गरिएको थियो। विशेषगरी नेपालको संविधान २०७२ ले सुनिश्चित गरेका महिलाको हक, प्रजनन अधिकार, सुरक्षित मातृत्व तथा लैंगिक विभेदसँग सम्बन्धित विषयमा जानकारी गराइएको थियो। साथै, १९१० सालको मुलुकी ऐनदेखि हालसम्म सीमान्तकृत समुदायले भोग्दै आएका विभेद र असमानताका विषयलाई ऐतिहासिक सन्दर्भसहित स्मरण गर्दै जातीय विभेद कसरी विकसित भयो, यसले समुदायमा पारेको प्रभाव र विशेषगरी महिलाले भोग्नुपरेका चुनौतीबारे छलफल गरिएको थियो।
जातीय विभेदविरुद्धको सचेतना तथा अन्तरक्रिया खेमबहादुर दर्जीले सहजीकरण गर्नुभएको थियो। उहाँले जातका आधारमा हुने विभेदका स्वरूप, त्यसले व्यक्ति तथा समुदायमा पार्ने सामाजिक प्रभाव, विभेदविरुद्ध कानुनी व्यवस्था तथा अन्यायका विरुद्ध आवाज उठाउने उपायका विषयमा सहभागीहरूसँग छलफल गर्नुभएको थियो।
कार्यक्रममा दैनिक जीवनमा सामान्यजस्तै स्वीकार गरिँदै आएका विभेदपूर्ण व्यवहारलाई कसरी पहिचान गर्ने, त्यसविरुद्ध प्रश्न उठाउने तथा आफ्नो अधिकारका लागि आवाज उठाउने भन्ने विषयमा पनि सहभागीहरूसँग अन्तरक्रिया गरिएको थियो। सहभागी महिलाहरूले आफूहरूले समुदाय तथा दैनिक जीवनमा भोगेका विभेदका अनुभवहरू राख्दै अधिकार, कानुनी उपचार र स्थानीय तहबाट प्राप्त गर्न सकिने सेवा–सुविधाबारे जानकारी लिन विशेष चासो देखाएका थिए।
कार्यक्रमका सभाध्यक्ष तथा गैंडाकोट नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष कोकीसरा राना मगरले वडा भौगोलिक तथा सामाजिक अवस्थाका हिसाबले विविधतायुक्त रहेको बताउनुभयो। उहाँले वडाभित्र ग्रामीण, शहरी तथा बीचको अवस्थाका क्षेत्रहरू रहेकाले त्यहाँ बसोबास गर्ने महिला दिदीबहिनीहरूको आवश्यकता पनि फरक–फरक रहेको र सबैका आवश्यकता सम्बोधन गर्न चुनौती रहेको उल्लेख गर्नुभयो।
वडा अध्यक्ष राना मगरले यस्ता सचेतनामूलक कार्यक्रमले महिलाहरूको चेतना अभिवृद्धि गर्नुका साथै उनीहरूलाई आफ्नो अधिकारप्रति सचेत हुँदै नेतृत्वदायी भूमिकामा अघि बढ्न सहयोग पुग्ने बताउनुभयो। महिलाहरूको क्षमता र नेतृत्व पहिचान गरी उनीहरूलाई सामाजिक तथा स्थानीय तहका गतिविधिमा अगाडि ल्याउन आवश्यक रहेको उहाँको भनाइ थियो।
उहाँले वडाबाट प्रदान गरिने सेवा–सुविधा प्राप्त गर्न स्वयं वडा कार्यालयसम्म आउनुपर्ने अवस्थाको चर्चा गर्दै दलित, जनजाति तथा सीमान्तकृत समुदायका लागि वडा तथा नगरपालिकाले गर्दै आएका विभिन्न कार्यक्रम र प्रयासबारे जानकारी गराउनुभयो। लक्षित समुदायका आवश्यकता सम्बोधन गर्न स्थानीय तहले छुट्टै बजेटसमेत विनियोजन गर्दै आएको उल्लेख गर्दै उहाँले उपलब्ध सेवा, अवसर र स्रोतको उपयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रमको समन्वय तथा सहजीकरण द स्टोरी किचनका नवलपरासी जिल्ला संयोजक नर्मदा पाण्डेले गर्नुभएको थियो।
‘समान आवाज’ कार्यक्रमले सीमान्तकृत समुदायका महिला तथा अन्य लक्षित समूहलाई आफ्ना अधिकार, आवश्यकता र सवालबारे बोल्न, स्थानीय तहसँग संवाद गर्न तथा नेतृत्वदायी भूमिकामा अघि बढ्न सक्षम बनाउने उद्देश्य राखेको छ। यसैक्रममा आयोजित नागरिक सचेतना कार्यक्रमले जातीय तथा सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धि गर्दै महिलाहरूलाई आफ्ना सवाल पहिचान गरी आवाज उठाउन र स्थानीय शासन प्रक्रियामा अर्थपूर्ण सहभागिता जनाउन प्रोत्साहित गरेको आयोजकले जनाएको छ।
कार्यक्रमले ‘समान आवाज, समान अवसर र पूर्ण सहभागिता’को अवधारणालाई समुदायस्तरमा थप सुदृढ गर्दै सीमान्तकृत समुदायका महिलाहरूको अधिकार, आत्मविश्वास र नेतृत्व विकासका लागि संवादको वातावरण निर्माण गरेको छ।










